भदौ १९, लहान । सिरहा विद्युत प्राधिकरण कार्यालयले समयमा विद्युत महसुल नबुझाउने ४१ सेवाग्राहीका तार छुटाउन थालेको छ । कार्यालयले भदौ ६ गतेदेखि १६ गतेसम्ममा ४१ जना ग्राहकको विद्युतीय तार छुटाइएको बताएको छ । विद्युतको बाँकी रकम समयमा नबुझाउने र पटकपटक विद्युत महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकका तार छुटाउन थालेको कार्यालय प्रमुख जितेन्द्र यादवले बताए । उनका अनुसार तार छुटाइएको ४१ ग्राहकबाट करीब रू. ३६ लाख पाँच हजार भन्दा बढी बक्यौता उठाउन बाँकी छ ।
यसैबीच सो कार्यालयले तीन दिनको अवधिमा विद्युत चोरी गर्ने १६ जनालाई पक्राउ गरी तिनबाट रू. ८० हजार जरिवाना असुली गरेको छ । जिल्लाको विभिन्न गाविसबाट विद्युत चोरी गर्ने व्यक्तिसँगै ३७ थान पानी तन्ने मोटर, १० थान टिभी र २१ थान पङ्खा बरामद गरेको प्रमुख यादवले बताए । गतआवमा पनि विद्युत चोरी गर्ने १ सय ४४ जनालाई पक्राउ गरी तिनबाट रू. सात लाख २० हजार जरिवाना असुलेको थियो ।
कञ्चनपुरः– नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण शाखाले लामो समयदेखि विद्युत् महसुल नतिर्ने कृष्णपुर, झलारी, महेन्द्रनगर, खैरभट्टी, निम्बुखेडा क्षेत्रका १ सय ६५ ग्राहकको विद्युतीय तार छुटाएको छ । तार छुटाइएका ग्राहकबाट रू. २० लाख ९० हजार बक्यौता असुल भएको प्राधिकरणको शाखाका प्रमुख भोजराज जोशीले बताए ।
पहिलो चरणमा रू. दश हजारभन्दा बढी महसुल तिर्न बाँकी रहेका ग्राहकको तार छुटाएको हो । महशुल नबुझाउने ४४ हजार ९ सय १३ ग्राहकबाट प्राधिकरणले रू. दश करोड ८८ लाख ७१ हजार ६५ बक्यौता असुल गर्न बाँकी रहेको छ । रासस