वीरगञ्ज । मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ८ महीनामा मुख्य बस्तुको आयात बढेको छ । एकीकृत जाँच चौकी (आईसीपी) भन्सार कार्यालयका अनुसार मूल्यका आधारमा सबैभन्दा बढी आयात हुने बस्तुको सूचीमा पेट्रोलियम पदार्थ परेको छ ।
आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार वीरगञ्ज नाकाबाट आयात हुने बस्तुमा पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थ मुख्य हुन् । चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा मुख्य १० बस्तुको सूचीमा रहेकामध्ये कपडाबाहेक अन्य सबै बस्तुको आयात मूल्य वृद्धि भएको छ ।
यो अवधिमा १ खर्ब २२ अर्ब २० करोड रुपैयाँबराबरको डिजेल, पेट्रोल, हवाई इन्धन, ग्यास र मट्टीतेल आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । आयात सूचीको दोस्रो नम्बरमा भटमासको कच्चा तेल परेको छ । बितेको ८ महीनामा २९ अर्ब १९ करोड रुपैयाँको यस्तो कच्चा पदार्थ आयात भएको देखिन्छ ।
विगतमा भारतले प्रशोधित तेलको आयतमा शून्य भन्सार नीतिका कारण करीब ठप्प भएको निकासी पछिल्लो नीतिका कारण सुचारु भएको थियो । भारततर्फ निर्यात शुरू भएसँगै यस्तो कच्चा पदार्थ भित्रिनेक्रम बढेको उद्योगी सुरेश रुंगटा बताउँछन् ।
अघिल्लो आव २०८०/८१ को समीक्षा अवधिका भटमासको कच्चा तेलको आयात ५ अर्ब ७८ करोड रुपैयाँको मात्रै थियो । आयात सूचीको तेस्रो नम्बरमा फलाम र फलामका सामग्री परेका छन् । २२ अर्ब ५१ करोड मूल्यबराबरका यस्ता सामग्री आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।
यो नाकानजिकको बारा–पर्सा औद्योगिक कोरिडोरमा खुलेका निर्माण सामग्रीका उद्योगहरूले यस्ता बस्तुको आयात गर्दछन् । कोरिडोरका डण्डी, पाइप, जस्तापातालगायतका उद्योगले यही नाकाबाट कच्चा पदार्थ भित्र्याउँछन् ।
आईसीपी भन्सारबाट २१ अर्ब ६७ करोड रुपैयाँको मेसिनरी पार्टपूर्जा आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । यो अवधिमा १९ अर्ब रुपैयाँको औषधी आयात भएको छ । बितेका ८ महीनामा १७ अर्ब ६० करोड रुपैयाँको विद्युतीय उपकरण र तिनका पार्टपूर्जा भित्रिएका छन् ।
नाकाबाट १६ अर्ब १३ करोड रुपैयाँको खाद्यान्न आयात हुँदा ११ अर्ब ६८ करोड मूल्यको यातायातका साधान भित्रिएको तथ्यांक भन्सारसँग छ । प्लाष्टिक उद्योगका कच्चा पदार्थको आयात पनि बढेको छ । ८ अर्ब ३८ करोड मूल्यबराबरको यस्तो औद्योगिक कच्चा पदार्थ भित्रिएको छ ।
यो नाकाबाट कपडाको आयात भने खुम्चिएको छ । यस्तो आयात अधिकांश अनौपचारिक माध्यमबाट हुने भएकाले वैध आयातको परिमाण घटेको भन्सार अधिकारीहरूको आशंका छ । चालू आवको फागुन अन्त्यसम्ममा ७ अर्ब ५५ करोड रुपैयाँबराबरको कपडा भित्रिएको तथ्यांक छ ।