काठमाडौं । सर्वोच्च अदालतले पाथीभरामा केबलकारको काम तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यामबहादुर लिम्बुलगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि आइतवार सर्वोच्चले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको हो । लिम्बुलगायतले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बद्ध सबै काम बदर गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । न्यायाधीश शारंगा सुवेदीको इजलाशले २६ चैतमा दुवै पक्षलाई झिकाएको छ ।
निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने भन्दै न्यायाधीश सुवेदीको इजलाशले २६ चैतमा दुवै पक्षलाई झिकाएको सर्वोच्च अदालतको आदेशमा उल्लेख छ ।
- काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश
- २६ चैतमा दुवै पक्ष अदालत हाजिर हुनुपर्ने
- २०७५ सालदेखि केबलकार बनाउने र बनाउन नदिनेबीच विवाद
- पटकपटक भएका वार्ता निष्कर्षहीन
पाथीभरामा केबलकार बनाउने र बनाउन नदिनेबीच २०७५ सालदेखि विवाद चलिरहेको छ । केबलकारको तल्लो स्टेशन रहने ठाउँमा एस्काभेटरले जमीन सम्याउन थालेपछि गत माघ १२ मा काफ्लेपाटीमा रहेका सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो । झडपमा तीन आन्दोलनकारी र २१ सुरक्षाकर्मी घाइते भएका थिए । झडपपछि पनि पटकपटक गृह मन्त्रालयले वार्ता कमिटी बनाएर संवाद गरेर पनि निकास निस्कन सकेको छैन । केबलकार विरोधीले उक्त संरचना निर्माणले स्थानीय लिम्बु जातिको धार्मिक आस्थामा चोट पुग्ने बताउँदै आएका छन् भने कम्पनीले परियोजनाले धार्मिक आस्थामा कुनै चोट नपुर्याउने बरु स्थानीय स्तरमा आर्थिक गतिविधि र रोजगारी बढ्ने दाबी गर्दै आएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष रहेका आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले फुङ्लिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर केबलकार निर्माणको काम थालेको थियो ।
ताप्लेजुङको विकास र समृद्धिमा पाथीभरा केबलकार कोसेढुंगो सावित हुने ढकालले बताउँदै आए पनि स्थानीयको अवरोधका कारण निर्माणको काम प्रभावित हुँदै आएको छ । पाथीभरा मन्दिरलाई लक्ष्य गरी फुङ्लिङ नगरपालिका–१०, काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किलोमीटर लामो केबलकार बन्न शुरू भएको थियो ।
केबलकार निर्माणमा करीब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कम्पनीले सरकारी अनुमति प्राप्त भएकाले १५ महीनाभित्र केबलकार निर्माण सम्पन्न गर्ने बताउँदै आएको छ । केबलकार कम्पनी अध्यक्ष ढकालका अनुसार काफ्लेपाटीमा बेसस्टेशन रहने गरी तयार भएको केबलकारको विस्तृत परियोजना प्रतिवेदनमा पाथीभरा डाँडाभन्दा करीब ७०० मीटर तल पश्चिम दिशामा टप स्टेशन बनाउने योजना छ । उनका अनुसार केबलकारमा ३६ ओटा गोन्डोला रहनेछन् । त्यसमध्ये दुईओटा पाथीभरा क्षेत्रमा सामान ओसारपसारका लागि प्रयोग गरिनेछ ।
माथिल्लो स्टेशनमा पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना बन्ने कम्पनीको दाबी छ । केबलकार निर्माण र सञ्चालनका क्रममा करीब ३०० जनशक्ति आवश्यक पर्ने र त्यसमध्ये ८० प्रतिशत स्थानीय नै प्रयोग गर्ने ढकालले बताउँदै आएका छन् । तर, आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् अवस्थामा राख्नुपर्ने माग गर्दै आएको छ । आन्दोलनरत पक्षको यही अडानले विवाद चुलिँदै गएको हो ।