वीरगञ्ज। आयात निर्यात कारोबार परिमाणका आधारमा मुख्य नाका मानिएको वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ३ महीनामा वैदेशिक व्यापार खुम्चिएको छ । गत आव २०८०/८१ को पहिलो त्रैमासिक अवधिको तुलनामा आयात र निर्यात दुवै कारोबार घटेको वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
वीरगञ्ज नाकाबाट गत आवको शुरूका ३ महीनामा कुल १ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा यो आकार १ खर्ब ५१ अर्ब रुपैयाँमा झरेको भन्सारको तथ्यांक छ ।
बितेका साउन, भदौ र असोज महीनामा करीब डेढ खर्ब रुपैयाँबराबरको आयात हुँदा निर्यात भने ७ अर्ब रुपैयाँको मात्र छ । आयात र निर्यात दुवै घटेको देखिन्छ ।
गत आवको ३ महीनामा १ खर्ब ५३ अर्ब रुपैयाँबराबरको मालसामान आयात भएकोमा चालू आवको समीक्षा अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँको बस्तु भित्रिएको वीरगञ्जको आईसीपी भन्सारले बताएको छ । वीरगञ्ज नाकाबाट मुख्य रूपमा सवारीका साधन, इन्धन र औद्योगिक कच्चापदार्थ भित्रिने गरेकोमा यी सबैजसो वस्तुको आयात खुम्चिएकाले त्यसको असर यो नाकाबाट हुने वैदेशिक व्यापारको परिमाणमा देखिएको प्रमुख भन्सार प्रशासक दीपक लामिछाने बताउँछन् ।
पछिल्लो समयमा पेट्रोलिमय पदार्थबाट चल्ने सवारीका साधनको तुलनामा विद्युतीय सवारीसाधनको आयात बढेको र त्यस्ता साधन उत्तरी नाकाबाट भित्रिएकाले वीरगञ्ज नाकामा आयात कम देखिएको पनि लामिछानेले बताए ।
विद्युतीय सवारीसाधनको प्रयोग बढेको र औद्योगिक प्रतिष्ठान समेत पूर्ण क्षमतामा नचल्दा इन्धनको खपत घटेको छ । विकास निर्माणका काम सुस्त भएपछि इन्धन खपत घटेकाले पेट्रोलियम पदार्थको आयातमा पनि ह्रास आएको भन्सार अधिकारीहरू बताउँछन् ।
वीरगञ्ज नाकाबाट चालू आवको तीन महीनामा अघिल्लो सोही अवधिको तुलनामा निकासी कारोबार खस्किएको भन्सारको तथ्यांक छ । यो नाकाबाट गत आवको शुरूका ३ महीनामा ८ अर्ब ४६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । चालू आवको असोज अन्त्यसम्ममा यो परिमाण ७ अर्ब ७६ करोड रुपैयाँमा खुम्चिएको छ ।
यो नाकाबाट प्रशोधित खाने तेलको निकासी बढी हुने गरेकोमा भारतले आयात शुल्क घटाएपछि निकासी करीब ठप्पजस्तै भएको थियो । आयात र निर्यात दुवै घटेपछि यो भन्सारले निर्धारित राजस्व पनि लक्ष्यको ७४ प्रतिशत मात्र उठाएको छ ।