वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन दण्ड जरीवानालाई तीव्रता दिएको छ । महानगरले नगरक्षेत्रमा कर्मचारी खटाएरै जथाभावी फाहोर फाल्नेहरूमाथि निगरानी बढाइएको बताइएको छ ।
सरसफाइ शाखाका प्रमुख सर्फुदिन मियाँका अनुसार महानगरले बितेको डेढ वर्षमा ५९४ जनालाई कारवाही गरिएको छ । ती व्यक्तिहरूलाई तिराइएको जरीवानाबाट ३६ लाख रुपैयाँ उठेको पनि मियाँले बताए ।
महानगरले फोहोर संकलनका लागि परिचालन गरेका ट्याक्टरमा जथाभावी फोहोर नफाल्न चेतनामूलक सूचना प्रसारण गर्दै आएको छ । महानगरले कार्यालयबाट कर्मचारी नै खटाएर नगरका विभिन्न क्षेत्रमा फोहोर फाल्नेहरूमाथि निगरानी बढाएको मियाँले बताए ।
फोहोर फाल्नेहरूलाई ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरीवाना गर्दै आएको उनले जानकारी दिए । फोहोर फाल्नेहरू कारवाही चलाइएकै कारण सरसफाइ प्रभावकारी भएको दाबी महानगरको छ ।
महानगरमा फोहोर संकलन गर्न १३ ओटा ट्याक्टर परिचालन गरिएको छ । तीमध्ये २ ओटामा वीरगञ्जका विभिन्न अस्पतालबाट अस्पतालजन्य फोहोर संकलन हुँदै आएको मियाँले जानकारी दिए ।
महानगरले नगरको फोहोर संकलन र व्यस्थापनको ठेक्का लगाएको छ । ठेक्का नलागेका क्षेत्रमा महानगर आफैले फोहोर संकलन गरिरहेको छ ।