वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको स्टार्टअप समितिले वीरगञ्जमा आउँदो कात्तिक २४ गते मधेश प्रदेशस्तरीय ‘स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन २०२४’ आयोजना गर्ने भएको छ ।
महासंघले आइतवार वीरगञ्जमा पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो । मधेश प्रदेश सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा हुन लागेको यो सम्मेलनले प्रदेशका नवप्रवर्तनशील उद्यमीहरू, स्टार्टअपहरू र सम्भावित उद्यमशील व्यक्तिहरूलाई महत्त्वपूर्ण अवसर प्रदान गर्ने महासंघ प्रदेश अध्यक्ष अशोकुमार टेमानीले बताए ।
‘अहिलेको विश्वअर्थतन्त्र, उद्यम र व्यापारमा स्टार्टअप संस्कृति अपरिहार्य बन्दै गएको छ । नेपालको सन्दर्भमा खासगरी, कोरोना महामारीयता उद्योग व्यापारको प्रवृत्तिमात्र नभएर आम मानिसको जीवनशैलीमा परिवर्तन आइरहेको छ,’ टेमानीले भने, ‘अब परम्परागत तरिकाले अर्थतन्त्रलाई गति दिन सहज छैन भन्ने कुरालाई विश्वको अभ्यासले स्थापित गर्दै लगेको अवस्थामा सम्मेलनले यिनै विषयमा गहन छलफल गर्दै प्रदेशका उद्यमीहरूलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान दिनेछ ।’
उद्यम गर्ने चाहना र योजना भएर पनि स्रोतको अभावमा काम गर्न नपाएकाहरूलाई बाटो देखाउने अभिप्रायले सम्मेलन आयोजना गर्न लागिएको टेमानीले बताए । सम्मेलनको संयोजन गरिरहेका महासंघ स्टार्टअप समितिका अध्यक्ष अनुप अग्रवालले सरकारले स्टार्टअपलाई प्रवर्द्धन गर्ने नीति लिए पनि यसले अपेक्षित उपलब्धि दिन नसकेको अवस्थामा अर्थतन्त्रमा स्टार्टअप संस्कृतिलाई अघि बढाउन सम्मेलनले सहयोग पुग्ने दाबी गरे ।
‘सरकारी नीतिका बावजुद यसको अपेक्षित प्रवर्द्धन हुन सकेको छैन । स्टार्टअपबारे स्पष्ट दृष्टिकोण र बुझाइ, त्यसअनुसारको योजना र स्रोतदेखि बजार व्यवस्थापनसम्म नवीन तरिकाबाटै यसका सरोकारहरूलाई सम्बोधन गर्न सकिन्छ भन्ने सोचबाट यो कार्यक्रम आयोजना हुन लागेको हो,’ अग्रवालले भने ।
विश्वका अन्य अर्थतन्त्रमा स्टार्टअपहरू नवीन सोच, प्रविधि, र नवप्रवर्तनमार्फत अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने साधनका रूपमा स्थापित हुँदै गइरहेको उल्लेख गर्दै अग्रवालले अबको समय भनेको नवप्रवर्तन, नवीन सोच र शैलीमा आधारित स्टार्टअपको नै भएको बताए । सम्मेलनको उद्देश्य स्टार्टअपलाई प्रवर्द्धन गर्दै नव उद्यमशीलतालाई प्रोत्साहित गर्नु रहेको उनको भनाइ थियो ।
सम्मेलनमा देशविदेशमा ख्याति कमाएका प्रशिक्षकहरूबाट नेपालमा स्टार्टअपको सम्भाव्यता, सरकारले यसको प्रवर्द्धनका लागि लिएको नीति, स्टार्टअप चेतनाको विस्तार र नव उद्यमीहरूका लागि अवसरहरूको खोजीबारे जानकारी दिइने सहसंयोजक वासुदेव लाल कर्णले बताए ।
कार्यक्रममा गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चमरियालाई मुख्य प्रशिक्षक निम्ताइने पनि उनले बताए । विश्व अर्थतन्त्रमा स्टार्टअपका आयामहरूका बारेमा जानकारीमूलक मुख्य सेसनहरू रहने र २ ओटा प्यानल छलफल समावेश हुने जानकारी कर्णले दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले स्टार्टअप अर्थतन्त्रको अभिन्न अंग बनिसकेकाले यसलाई प्रवर्द्धन गर्नुको विकल्प नरहेको स्पष्ट पारे । मधेशमा स्टार्टअपको प्रचुर सम्भावना रहेकोले यसको उपयोगमा सम्मेलन प्रभावकारी हुने विश्वास गौतमले व्यक्त गरे ।
सम्मेलनमा नयाँ सोच र दृष्टिकोणका साथ उद्यम शुरु गर्न चाहनेहरू, स्टार्टअप चलाइरहेकाहरू र उद्यमशीलतामा भविष्य देख्ने विद्यार्थीहरूसहित ३०० जनाको सहभागिता रहने आयोजकले बताएको छ ।