चैत १३, पर्वत (अस) । चालू आवको दोस्रो चौमासिक अवधि सकिइसक्दा पनि पर्वतको विकास बजेट १ चौथाइ पनि खर्च हुन सकेको छैन । विकासका लागि विनियोजित बजेट दुई चौमासिक सकिँदा जम्मा २४ प्रतिशत मात्र खर्च भएको छ । कर्मचारीको ढिलासुस्ती, कार्यालयभन्दा बाह्य बसाइ र आयोजना सम्झौतामा अन्योलका कारण विकास बजेट खर्च हुन नसकेको हो । त्यस्तै, आर्थिक वर्ष सकिन लागेपछि मात्रै योजनाहरू धमाधम सम्झौता हुने परम्पराका कारण पनि विकास बजेट लक्ष्यअनुरूप खर्च हुन सकेको छैन ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतका अनुसार जिल्लाको चालूतर्फको २ अर्ब ७६ करोड बजेटबाट १ अर्ब ८२ करोड निकासा भएको छ भने पूँजीगततर्फ ५१ करोड बजेटमा २१ करोड २७ लाख ८७ हजार मात्र निकासा भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको कुल बजेट १५ करोड २१ लाख बजेटमा ६ करोड ९१ लाख निकासा भएको कार्यालयले बताएको छ । त्यस्तै, जिल्ला समन्वय समितिअन्तर्गतको नेपाल सरकारबाट प्राप्त १८ करोड बजेटमा ७ करोड ४१ लाख मात्र निकासा भएको छ ।
पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालयको वार्षिक बजेट ५ करोड ९५ लाखमा दोस्रो चौमासिकको अन्त्यसम्ममा १ करोड २७ लाख निकासा भएको छ । कार्यालयका अनुसार जिल्ला भू–संरक्षण कार्यालयको कुल बजेट ५१ लाख ३९ हजारमा ५५ लाख ७ सय २४ रुपैयाँ खर्च भएको हो ।
कोष तथा लेखा प्रमुख विष्णुप्रसाद खरेलका अनुसार कर्मचारीको तलब सुविधाअन्तर्गतको चालू बजेट ५० प्रतिशत खर्च भएको भए पनि विकास बजेट भने २४ प्रतिशत मात्र खर्च हुन सकेको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा वन तथा नगरपालिकाको बजेट पनि लक्ष्यअनुसार खर्च हुन नसकेको उनले बताए ।