पोखरामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको थालनी गर्ने मन्त्रिपरिषद्को निर्णयको पोखरा उद्योग वाणिज्य सङ्घले स्वागत गरेको छ । ढिलै भए पनि पश्चिमाञ्चलवासीको मागको सम्बोधन भएको सङ्घले बताएको छ । सङ्घले सरकारको निर्णय सकारात्मक भएको बताउँदै विमानस्थल निर्माणको निर्णय तत्काल कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि अहिलेसम्म विमानस्थल निर्माण हुन सकेको छैन । नेपाल सरकारको मन्त्रिपरिषद्को ४ गतेको बैठकले पोखरामा क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । यसैबीच सरकारको निर्णयको पश्चिमाञ्चल क्षेत्रीय होटल सङ्घ पोखरा र नाट्टा पोखराले समेत स्वागत गरेका छन् ।
वर्ष ८, अंक १५२, सोमवार, ७ फागुन, २०६९