पुष्करराज भट्टराई
विश्वव्यापीकरणको प्रभावस्वरूप विश्वको जुनसुकै देशमा श्रम बेच्न पाइने अवसर सृजना भएको छ । नेपाली युवाहरूले यो अवसरको भरपुर प्रयोग गरेका छन् । यसैको फलस्वरूप ठूलो सङ्ख्याका नेपाली विदेशमा काम गर्छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार देशमा अनुपस्थित (विदेशमा बसोबास गर्ने) जनसङ्ख्या १९ लाख २१ हजार ४ सय ९४ रहेको छ । १० वर्षअघि (२०५८ मा) यस्तो जनसङ्ख्या ७ लाख ६२ हजार १ सय ८१ थियो । तिनीहरू घरपरिवारको माया मारेर मरुभूमिमा आफ्नो श्रम बेचिरहेका छन् । देशमा रोजगारी नभएकाले नै उनीहरू विदेश काम गर्न गएका हुन् । चालू आवको प्रथम त्रैमासमा मात्रै १ लाख २९ हजार ४ सय १० जना वैदेशिक रोजगारीमा गएका छन् । यो तथ्याङ्क असोजमा मात्रै ३५ हजार ५ सय ५० थियो । यसकारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या यो वर्ष झनै बढ्ने निश्चित छ ।
वैदेशिक रोजगारी र विप्रेषणबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । सामान्यतया वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दा विप्रेषण आप्रवाह पनि बढ्ने र सङ्ख्या घट्दा विप्रेषण आप्रवाह पनि घट्नुपर्ने हो । तर, पछिल्लो तथ्याङ्कअनुसार यो सम्बन्ध उल्टो देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार चालू आवको प्रथम २ महीनामा विप्रेषण आप्रवाह ४ प्रतिशतले घटेर ८४ अर्ब ४८ करोडमा सीमित भएको छ । यसका पछाडि धेरै कारण छन् । उदाहरणका लागि मलेशियाबाट मात्रै पछिल्लो ४ महीनामा १ सय ६६ जना नेपालीको शव नेपाल आएको छ । नेपाली दूतावास मलेशियाले ४ महीनाको अवधिमा ५ हजार ७ सय ५५ अवैधानिक अवस्थामा रहेका नेपालीको उद्धार गरी नेपाल फिर्ता पठाएको छ । यो एउटा प्रतिनिधि घटना मात्र हो ।
आखिर जे भए पनि हाम्रो अर्थतन्त्र विप्रेषणमुखी भइसकेको छ । कुल गार्हस्थ्य उत्पादनको करीब ३० दशमलव २१ प्रतिशत योगदान रहेको कुल विप्रेषणको करीब ७९ प्रतिशत उपभोगमा खर्च हुने गरेको छ । नेपालमा वार्षिक करीब रू ५ खर्ब ५९ अर्ब ९ करोड विप्रेषण भित्रँदै आएको र त्यसको करीब ७९ प्रतिशत उपभोगमा खर्च भएको केन्द्रीय तथ्याङ्क विभाग (सीबीएस)को ‘जीवनस्तर सर्वेक्षण सन् २०११’ ले देखाएको छ । कामका लागि विदेशिने अधिकांश नागरिक ग्रामीण क्षेत्रका भएको र उनीहरूको आर्थिक स्थिति कमजोर रहेकाले उनीहरूको पहिलो आधारभूत आवश्यकता भनेको खाद्यान्न, लत्ताकपडा, आवास आदि नै हो । उनीहरूबाट आफ्ना आधारभूत आवश्यकता पूरा गरेर बचेको रकम मात्र अन्य क्षेत्रमा खर्च गरिने भएकाले विप्रेषणको करीब ८० प्रतिशत उपभोगमा खर्च हुँदै आएको छ ।
विप्रेषण आयको अधिकांश रकम उपभोगमा खर्च हुनु अस्वाभाविक भने होइन । आधारभूत आवश्यकता नै पूरा नभएका मानिसको पहिलो काम भनेकै ती आवश्यकता पूरा गर्नु रहेकाले यसलाई अन्यथा मान्नुहुन्न । छानो नभएकाले जस्तापाता लगाउन, कमसल चामल खानेले गुणस्तरीय चामल खान, राम्रो लुगा लगाउन, मोबाइल, टेलिभिजन किन्नलगायतमा बढी खर्च गरेको देखिन्छ । तर, पछिल्लो समय विप्रेषण प्रयोगकर्तामा केही भड्किलो (खर्चालु) प्रवृत्ति पनि नदेखिएको भने होइन ।
यस्तो परिस्थितिमा विप्रेषणको प्रभावकारी व्यवस्थापन जरुरी छ । यसका लागि निम्नलिखित कदम चाल्नुपर्छ । ‘पब्लिक अवारनेस’ वृद्धि गरी बचत गर्ने बानी बसाल्नुपर्छ । वित्तीय पहुँच अभिवृद्धि गर्नु आवश्यक छ र बैङ्किङ माध्यमबाट विप्रेषण भित्र्याउने व्यवस्था गर्नुपर्छ । सहभागितामा आधारित विकास प्रवद्र्धन गरी कृषिलाई आधुनिकीकरण गर्दा पनि विप्रेषण रकमको उचित उपयोग हुन सक्छ । त्यस्तै विदेशमा सिकेको शीप स्वदेशमा प्रयोग गर्ने अवसर सृजना गर्न सरकारले उचित प्रोत्साहित नीति लिनुपर्छ । अहिले पनि वैदेशिक रोजगारबाट फर्किएकाहरू कृषि उद्यममा लागेका छन् र नयाँ सम्भावना देखाएका छन् । त्यस्तै विप्रेषण रकमको सही उपयोगका लागि महिला उद्यमशीलतालाई प्रोत्साहन दिनुपर्छ । विप्रेषणबाट प्राप्त रकम महिलाहरूकै हातमा जाने भएकाले उनीहरूलाई उद्यमशील बनाउँदा विप्रेषणको उचित उपयोग हुनसक्छ । त्यसैले उपभोगमुखी प्रवृत्ति कम गरी उत्पादनमुखी बनाउन महिला उद्यमशीलता कार्यक्रम लागू गर्नुपर्छ ।
विप्रेषणको प्रयोगबाट देशको आर्थिक विकास गर्न यसको प्रभावकारी व्यवस्थापन अपरिहार्य छ । विप्रेषणको प्रभावकारी व्यवस्थापन सकेन भने आउँदा दिनमा अर्थतन्त्रले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउनेछ ।
लेखक नेपाल बैङ्क लिमिटेड, कल्याणपुर शाखाका शाखाप्रबन्धक हुन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.