विराटनगर। विराटनगर महानगरपालिकाको १५औं नगरसभा सम्पन्न भएको छ । यस नगरसभामा महानगरले चालू आर्थिक वर्षको बजेट यथावत राख्दै विभिन्न योजना र कार्यक्रमका शीर्षकमा मात्र परिवर्तन गरेको छ । अघिल्लो नगरसभाबाट बजेट संशोधन गरिएको थियो ।
मेयर नागेश कोइरालाको अध्यक्षतामा सम्पन्न नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले चालू आर्थिक वर्षका लागि संशोधित आय–व्यय विवरण प्रस्तुत गरिन् । उनले पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ आय भएको जानकारी दिइन् । यो लक्ष्यको ३५ प्रतिशत हो । चालू आर्थिक वर्षमा ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ आय र ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ व्ययको लक्ष्य थियो । पुस १५ सम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ ।
चालू आर्थिक वर्षको आन्तरिक आयको लक्ष्य १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ रहेकोमा पुस १५ सम्ममा २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ मात्र संकलन भएको छ । प्रदेश सरकारबाट सवारीसाधन कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धिकर तथा अन्त: शुल्कबाट १६ करोड ३४ लाख ७६ हजार रुपैयाँ प्राप्त भएको छ भने संघीय सरकारबाट १ अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएको अनुदानमा ६७ करोड ९२ लाख ७२ हजार रुपैयाँ प्राप्त भएको छ ।
मेयर कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीका धेरै आवश्यकता पूरा गर्नु चुनौतीपूर्ण भएको बताए । उनले भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गरे । चालू आर्थिक वर्षमा विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क जस्ता परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विराटनगरको सडक निर्माण, नाला र कल्भर्ट निर्माण, सडक ढलान र रिटेरिङ वाल निर्माण कार्यमा पनि महत्त्वपूर्ण प्रगति भएको बताइएको छ । मेयर कोइरालाले ट्राफिक व्यवस्थापन, खानेपानी समस्या समाधान र स्वास्थ्यसम्बन्धी विभिन्न सेवाको पनि चर्चा गरे ।
नगरसभामा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले प्रस्तुत गरेको एकल महिला सुरक्षा कोष (सञ्चालन) विधेयक २०८१ पारित भएको छ । अन्य समितिका संयोजकहरूले पनि चालू आर्थिक वर्षका उपलब्धिहरू प्रस्तुत गरेका थिए ।
नगरसभाले चालू आर्थिक वर्षको बजेटमा ठूलो संशोधन नगरी कार्यक्रम र योजनाका शीर्षक मात्र परिवर्तन गरेको र आगामी योजनाको कार्यान्वयनमा ध्यान केन्द्रित गरेको छ ।