काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले लाभांश वितरणको प्रस्ताव गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७०/७१ देखि ०७५/७६ सम्मको मुनाफाबाट १४ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन २८ गते ३४ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लव, सुन्धारा, काठमाडौंमा विहान ११ बजे बोलाइएको हो । कम्पनीले छ आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण एउटै सभामार्फत पारित गर्न लागेको हो । अन्य शेयरधनीहरुलाई १४ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश नेपाल सरकारलाई समेत वितरण गरिसकेको जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ र चालू आर्थिक वर्ष ०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । आर्थिक वर्ष ०७५/७६ सम्मको सञ्चालक समितिको भत्ता एवम्् सुविधालाई अनुमोदन गर्ने र सञ्चालक राजेन्द्र कुमार बैद्यको राजीनामा अनुमोदन गर्दै सर्वसाधारण शेयरधनीको तर्फबाट नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
कम्पनीको शेयरपूँजी ४ अर्ब १ करोड कायम भए बमोजिम सभाले अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन गर्ने प्रस्ताव समेत सभाका लागि तय गरिएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ९ गते एक दिन बुक क्लाज गर्न लागेको छ । बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृतमध्ये सर्वाधिक पूँजीकरण भएको कम्पनी हो । माघ २८ गतेसम्मको कारोबारमा कम्पनीको कुल बजार पूँजीकरण २ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढी कायम छ । संस्थापक तर्फ सरकारको नाममा शेयर थपिएपछि शेयर कित्ता बढेको हो । धितोपत्र दोस्रो बजारमा कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता शेयर सरकारको स्वामित्वमा रहने गरी संस्थापक तर्फको शेयर गत मंसिर ११ गते थपिएको थियो । शेयर कित्ता बढेसँगै नेपाल दुरसञ्चार कम्पनीलाई पूँजीकरणमा पछि पार्दै विशाल बजार कम्पनीले सर्वाधिक पूँजीकरण भएको कम्पनीको स्थान कायम गरेको हो । संस्थापक शेयर थप भएको दिन २०८१ साल मंसिर ११ गते कम्पनीको शेयरमूल्य ४ हजार ५०० प्रतिकित्ता कायम रहेको थियो । पछिल्लो समय कम्पनीको शेयरमूल्य ५ हजार ७०० रुपैयाँ कायम भएको छ ।
कम्पनीको कुल कित्ता शेयरमध्ये ३ करोड ९६ लाख ८१ हजार ३३ कित्ता संस्थापक तर्फको रहेको छ भने ४ लाख १८ हजार ९६७ कित्ता सर्वसाधारणतर्फ रहेको छ । कम्पनीको शेयर संरचनामा संस्थापतर्फ ९८ दशमलव ९६ प्रतिशत र सर्वसाधारणतर्फ १ दशमलव शून्य ४ प्रतिशत रहेको धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ । कम्पनीको संस्थापक तर्फको शेयर दोस्रो बजारमा कारोबार नभएको जानकारी नेप्सेले दिएको छ । सर्वसाधारणतर्फको ४ लाख १८ हजार ९६७ कित्ता शेयर मात्र कारोबारयोग्य भएको अवस्थामा थोरै कित्ता शेयर भएको कम्पनीमा मूल्यमा चलखेल हुँदा कम्पनीको शेयरमूल्यमा समेत अस्वभाविक बृद्धि भएको जानकारहरुको आरोप छ ।
आजभन्दा करिब ११ वर्ष अघि यस कम्पनीले २०७० साल चैत १४ गते आर्थिक वर्ष ०६९/७० सम्मको ३३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । एक दशकपछि कम्पनीले पाँच वर्षको वार्षिक साधारण सभा गर्न लागेको हो । लामो समयदेखिको वार्षिक लेखापरिक्षण गर्ने कार्य बाँकी रहेको अवस्थामा २०७६/७७ देखि ०८०/८१ सम्मको लेखापरिक्षण सम्पन्न गरी चालू आर्थिक वर्षभित्र साधारण सभा सम्पन्न गर्ने गरी काम भैरहेको जानकारी कम्पनीकी सञ्चालक समिति सदस्य राधा पोखरेलले दिएकी छिन् ।