काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेललाई मनोनयन गरिएको छ ।
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेललाई मन्त्रीस्तरीय निर्णयबाट कम्पनीको सञ्चालकमा मनोनयन गरिएको हो । नेपाल सरकार (उपप्रधान तथा अर्थमन्त्रीस्तर) को फागुन ४ गतेको निर्णयअनुसार पोखरेल सञ्चालकमा मनोनयन भएकी हुन् ।
सञ्चालकमा मनोनयनपछि पोखरेलले सामाजिक सञ्जालमार्फत उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद दिएकी छिन् ।
विगत एक दशकदेखि पूँजीबजारमा आम लगानीकर्ताको हकहित संरक्षणमा सक्रिय रहेकी पोखरेलले कम्पनीको सञ्चालक पदमा रहेर कम्पनीलाई सुधार गर्नेतर्फ निष्ठापूर्वक लाग्ने बताएकी छिन् ।
साथै आफ्नो कार्यकालमा नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व भएका सार्वजनिक निकायका सञ्चालकले निर्वाह गर्नुपर्ने काम, कर्तव्य, आचरण र कानूनको अधीनमा रही निर्वाह गर्ने प्रतिबद्धतासमेत पोखरेलले व्यक्त गरेकी छिन् । कम्पनीलाई आफ्नो कार्यकालमा स्वच्छ, पारदर्शी र विवादरहित बनाउने प्रतिज्ञासमेत उनले गरेकी छिन् ।