नेपाली वनस्पति घ्यू आयातमा भारतले लगाएको कोटा प्रणाली हटाउन माग गर्दै सरकारले भारतसमक्ष प्रस्ताव लैजाने समाचार प्रकाशमा आएको छ । नेपाली उद्योगहरूको बारम्बारको अनुरोधपछि आगामी जनवरीमा हुने नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा उक्त प्रस्ताव लैजान लागिएको हो । सन् २००९ देखि नेपालबाट भारतमा वनस्पति घ्यू निर्यात ठप्प हुनेबित्तिकै सरकारले यस्तो प्रस्ताव लैजानुपर्ने थियो । ढिलै भए पनि वनस्पति घ्यू उद्योगीको सुझाव मनन गर्दै सरकारले कोटा प्रणाली हटाउन भारतसमक्ष लैजान लागेको यो प्रस्तावलाई सकारात्मक मान्नुपर्छ ।
यद्यपि, नेपाल सरकारले यसभन्दा पहिल्यै पत्र लेखेर कोटा प्रणाली हटाउन भारतसँग आग्रह गरेको भए लामो समयसम्म कुर्नु नपर्ने उद्योगीहरूको धारणा छ । भारत सरकारले आफ्नो मुलुकका वनस्पति घ्यू उद्योगलाई आवश्यक कच्चापदार्थ आयातमा शून्य भन्सार शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) ४ प्रतिशत मात्रै लिने व्यवस्था गरेपछि भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी नेपाली वनस्पति घ्यू निर्यात हुन नसकेको हो । भारतीय उद्योगलाई नेपाली वनस्पति घ्यूबाट जुन असर पुगेको त्यहाँका उद्योगीहरूको भनाइ थियो, कच्चापदार्थमा शून्य भन्सार दर र भ्याट कम हुनेबित्तिकै अब त्यो स्थिति छैन । त्यसैले, जुन प्रयोजनका लागि भारतले कोटा प्रणाली लागू गरेको हो, त्यो प्रयोजन नै समाप्त भइसकेपछि अब नेपाली वनस्पति घ्यू आयातमा भारतले कोटा प्रणाली लगाइराख्नुको कुनै औचित्य छैन ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ६५, शुक्रवार ८ मङ्सिर, २०६९