म्याग्दी । जिल्लाको बहुप्रतिक्षित गौरवको घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरु भएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले ठेक्का मार्फत निर्माण शुरु गरेको आयोजना मार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छ ओटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् ।
रु. ३५ करोड ६३ लाख ३९ हजार सात सय २७ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत असारमा रु. २८ करोड ५० लाख १२ हजार सात सय ५५ मा जिएटिआरसी–प्यागोडा–सासा जेभीले ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले रघुगङ्गा गाउँपालिका–६ करेन्टखोलामा मुहान, मुख्य पाईपलाईन र पानी प्रसोधन केन्द्रको संरचना निर्माण शुरु गरेको हो । वि.स. २०८१ असार २४ गते सम्झौता भएको योजना वि.स. २०८४ असार २३ गते सम्पन्न गर्ने लक्ष्य छ ।
बेनी नगरपालिकाको –५, ६, ९, १० नम्बर वडा, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी वि.स. २०७३ मा परिकल्पना गरिएको बृहत घोप्टेखोला खानेपानी योजना निर्माण गर्न पछिल्लो पटक सन २०२२ मा सर्वेक्षण भएको थियो ।
रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट वितरण पाइपमार्फत पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ । मुहान, ७६.२९ किलोमिटर मुख्य र ८६.२४ किलोमिटर वितरण पाइपलाइन, पानी प्रसोधन पलान्ट लगायतका संरचना ठेक्का मार्फत निर्माण गर्न लागिएको हो ।
कुल रु. ४८ करोड १६ लाख ५० हजार लागत अनुमान गरिएको आयोजनाको १० प्रतिशत सहभागीता उपभोक्ताहरूको रहनेछ् । उपभोक्ताले गर्नुपर्ने वितरण लाइन खन्ने र पुर्ने कामका लागि बेनी नगरपालिका र रघुगंगा गाउँपाकिलाले स्रोत सुनिश्चतता गरेका छन् । रासस