अमेरिकी सरकारको पोषण निर्देशिका (२०१५–२०२०)का अनुसार अमेरिकी जनतामा ५० प्रतिशत रोगको कारण खान नजान्दा भएको हो जसका कारण अमेरिकामा वर्षेनि १ खर्ब ७६ अर्ब डलर स्वास्थ्य सेवामा खर्च र ६९ अर्ब डलरको उत्पादकत्वमा कमी आएको एक अध्ययनको निष्कर्ष रहेको छ । यही विषयसमेतलाई दृष्टिगत गर्दै संयुक्त राज्य अमेरिकाले आफ्ना जनताका लागि पाँचवर्षे पोषण निर्देशिका र शारीरिक अभ्यास निर्देशिका जारी गरेको छ ।
नेपालका सम्बन्धमा विश्व खाद्य सङ्गठनले १७ ओटा मार्गदर्शन औंल्याएको छ । तीमध्ये आठओटा मार्गदर्शन अनावश्यक उपभोगलाई नियन्त्रण गर्ने विषयमा केन्द्रित छन् । प्रशोधित अन्नको न्यूनतम उपभोग, बोसो र तैल पदार्थको सीमित उपभोग, न्यूनतम नून ग्रहण, कम चिनी र चिनी हालेका वस्तु उपभोग, न्यून आराम, शारीरिक परिश्रमसहितको सक्रिय जीवनयापन, पेयपदार्थ, अल्कोहल र सुर्तीजन्य वस्तुको न्यून उपभोग, २ वर्षसम्मको बच्चालाई बेबीफूड कम स्तनपान बढी गर्नुपर्ने यस निर्देशिकाको सार रहेको छ ।