मुक्ति दिवस नामले प्रख्यात अमेरिकी नयाँ भन्सार नीति लागू भएपश्चात् विश्वका विभिन्न देशसँग पृथक् पृथक् व्यापार वार्ता गर्ने अमेरिकी चाहनाअनुसार विश्वका विभिन्न मुलुक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संयुक्त राज्य अमेरिका (अमेरिका) सँग व्यापार वार्तामा व्यस्त हुन थालेका छन् । यसरी व्यापार वार्तालाई निष्कर्षमा पुर्याउने पहिलो मुलुकमा रूपमा संयुक्त अधिराज्य हुन पुगेको छ ।
फक्स न्यूजका अनुसार अमेरिकाबाट आयात हुने इथानोलमा संयुक्त अधिराज्यमा शून्य भन्सार सुविधा प्राप्त हुनेछ भने अमेरिकाले संयुक्त अधिराज्यबाट हुने स्टील र एलमुनियम आयातमा शून्य भन्सार दरको सुविधा प्रदान गरेको छ । यसका अतिरिक्त संयुक्त अधिराज्यबाट हुने आयातमा यसअघि लागू गरेको भन्सार दर २७ दशमलव २५ प्रतिशतबाट घटाई पहिलो १० लाख गाडीको आयातमा १० प्रतिशतमा झारेको छ । परिमाणात्मक बन्देज लागे पनि संयुक्त अधिराज्यमा लगभग यही संख्यामा अमेरिकाबाट आयात गाडी आयात हुनेछ । फलतः यस प्रकारको परिमाणात्मक बन्देजको खासै ठूलो अर्थ नरहने यस क्षेत्रका विज्ञहरूको अभिमत रहेको छ ।
यसका अतिरिक्त अन्य वस्तुहरूमा पहिलेकै १० प्रतिशत भन्सार दर लाग्ने गरी संयुक्त अधिराज्य र अमेरिकाबीच व्यापार सम्झौता भएको छ । यस व्यापार सम्झौतालाई दुवै पक्षले प्रशंसा गरेका छन् । यसको स्पष्ट सन्देश भनेको दुवै देशको सहलाभको सिद्धान्तमा आधारित रहेर यो व्यापार सम्झौता सम्पन्न भएको स्पष्ट हुन्छ । लगभग यही ढाँचामा भारत र अमेरिकाबीच पनि व्यापार सम्झौता हुने संकेतहरू प्राप्त भएका छन् । कृषिजन्य उत्पादनको आयातलाई उदार गराउने विषयमा भारत र अमेरिकाबीच रहेका फरक मतहरू सुल्झनासाथ भारत र अमेरिकाबीच पनि यसै प्रकृतिको व्यापार सम्झौता हुने देखिन्छ । विशेष गरी मकै र भटमासको आयातमा भारतले उदार नीति लिने सम्भावना देखिएको छ । चीन र अमेरिका पृष्ठद्वार संयन्त्रमार्फत घनीभूत रूपमा व्यापार वार्ताहरू चलिरहेका छन् ।
उपर्युक्त परिस्थितिमाझ नेपालले पनि अमेरिकासँग व्यापार वार्ताहरू शुरू गर्न तदारुकता देखाउन आवश्यक छ । नेपाल र अमेरिकाबीच व्यापार वार्ता प्रारम्भ गर्न देहायका कार्य सम्पन्न गर्नु आवश्यक देखिन्छ ।
वार्ता कार्यदल गठन
नेपाल र अमेरिकाबीच व्यापार वार्ता गर्न स्थायी प्रकृतिको वार्ता कार्यदल गठन गर्न आवश्यक देखिन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा भन्सार विभाग, परराष्ट्र मन्त्रालय, तथ्यांक विभाग तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिनिधित्व रहने गरी व्यापार वार्ता कार्यदलको गठन गर्नु आवश्यक देखिन्छ । सो कार्यदलले संयुक्त राज्य अमेरिकासँग गर्नुपर्ने व्यापार वार्ताका लागि सम्पूर्ण तथ्यसहितको ठोस धारणा तय गरी संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्ता प्रारम्भ गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा महसूस गरिएको छ । विशुद्ध यही कार्यमा मात्र खटिने गरी शान्त र पृथक् वातावरणमा निश्चित अवधिमा नेपालको संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ताका सैद्धान्तिक र वस्तुगत निचोडसहितका धारणा बनाउन यस कार्यदललाई कार्य वातावरणसमेत दिइनु आवश्यक छ । कार्यदलले पनि सहलाभको सिद्धान्तमा आधारित रही दुवै पक्षको हित साधन गर्ने विधि (जो वर्तमान अमेरिकी भन्सार नीतिको उद्देश्य पनि हो) लाई समेत दृष्टिगत गरी सहलाभको सिद्धान्तभित्र रहेर अमेरिकासँग व्यापार वार्ताहरू सफल हुने लक्षण देखिन्छन् ।
नेपाल र अमेरिकाबीचको सम्बन्धमा आर्थिक पक्ष नै प्रधान पक्षका रूपमा रहेको सन्दर्भमा यूरोपेली संघ, जापान, चीन, दक्षिण अमेरिकी र अफ्रिकी देशहरूको तुलनामा नेपालको अमेरिकासँगको व्यापार वार्तामा धेरै जटिलता छैनन् र सम्बोधन गर्नुपर्ने पाश्र्व विषयहरू पनि धेरै छैनन् । विशुद्ध भन्सार दरहरूमा गरिने लेनदेनरूपी वार्ताहरूले अपेक्षित परिणाम ल्याउन सकिने सम्भावना देखिन्छ ।
कार्यदलले सर्वप्रथम आन्तरिक रूपमा नेपालले अमेरिकाबाट वर्तमान समयमा गरिरहेको आयात तथा नेपालले गरिरहेको निर्यात र विस्तारको सम्भावनाका बारेमा ठोस धारणा बनाउन आवश्यक अध्ययन गर्न जरुरी छ ।
उपर्युक्त अध्ययन र निजीक्षेत्रसँगको मन्त्रणापश्चात् नेपालले अमेरिकासँग व्यापार वार्ता गर्दा नेपालले छूट दिन सक्ने वस्तुको सूची र अमेरिकाकी बजारमा नेपालले दाबी गर्न सहुलियत छूट दिन वस्तुको समानान्तर सूची पनि तयार गर्नुपर्छ ।
नेपाल र अमेरिकाबीचको व्यापारको वर्तमान अवस्थालाई दृष्टिगत गर्दा अमेरिकी चाहना र नेपाली बजारको आकार र प्रवृत्तिलाई दृष्टिगत गरी उदाहरणका लागि (१) काष्ठफल ( नट्स) वर्गका उत्पादन, (२) भटमास र सूर्यमुखी (तैल वर्गका उत्पादन), (३) हवाई जहाज तथा पार्ट्स तथा (४) कोइलाजस्ता अमेरिकी उत्पादनलाई नेपालले अमेरिकाबाट आयात गर्ने प्राथमिकताको सूचीमा राख्नु आवश्यक हुन्छ ।
निजीक्षेत्रसँग संवाद
तथ्यांक र अभ्यासका अतिरिक्त निजीक्षेत्रको आँखाले देखेका सम्भावनाहरूले पनि व्यापार वार्ताका लागि वस्तुहरूको सूची तयार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । तसर्थ माथि उल्लेख गरिएअनुसार गठित कार्यदलले निजीक्षेत्रसँग गहन संवाद गरी एजेन्डा तय गर्ने अभ्यास पनि जरुरी छ । यस्तो अभ्यास विगतमा झैं निजीक्षेत्रलाई एउटा अन्तरक्रियामा आमन्त्रण गर्ने र त्यहाँ प्रक्रिया पुगेको छ भन्ने देखाउने अभिप्रायले संवाद गर्ने अनि निजीक्षेत्रले पनि आफ्नो उपस्थिति देखाउन प्रसंग बाहिरका विषयवस्तुमा बढी केन्द्रित हुनेजस्ता अभ्यासलाई विश्राम दिनुपर्छ र अनुसन्धानको पद्धतिबाट कार्यदलले निजीक्षेत्रसँग प्रश्नावलीसहित सम्पर्क गरी प्राप्त उत्तर एवम् पूरक प्रश्न र पूरक उत्तरका आधारमा निजीक्षेत्रका धारणालाई व्यापार वार्तामा समेट्ने गरी कार्य गर्नु पनि आवश्यक देखिन्छ ।
अहिलेको नेपाल र अमेरिकाबीचको व्यापारलाई सर्सती हेर्दा पनि काष्ठफलमा बदाम, पेस्ताजस्ता वस्तु, तेलहनमा भटमास, सूर्यमूखी तेल, मुमफली, मेशिनरीमा हवाई जहाज, हेलिकोप्टर, तिनका पार्टस्पुर्जा र एक्सेसरिज तथा इन्धनमा कोइलाजस्ता वस्तु नेपालले अमेरिकाबाट आयात प्रोत्साहन गर्ने वस्तुको सूचीमा राखी व्यापार वार्ता अघि बढाउन आवश्यक देखिन्छ । सारमा भन्नुपर्दा नेपाललाई आवश्यक पर्ने, नेपालले उल्लेख्य मात्रामा आयात गरिरहेका र अमेरिकाको निर्यात प्रवद्र्धन रणनीतिमा परेका वस्तुको आयातमा नेपालले विशेष पहल लिन आवश्यक छ ।
आयातमा उपर्युक्त वस्तुमा नेपालले सहुलियत प्रदान गर्ने वस्तुको सूची प्रस्तुत गर्दै पनि अमेरिकातर्फ निर्यात गर्न भन्सार सुविधाको माग गरिनुपर्ने वस्तुहरूको सूची समकक्षी अमेरिकी वार्ता दलसँग राख्नुपर्छ । यस प्रयोजनका लागि हाल अमेरिकी बजारमा सम्भावना भएका वस्तु ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना शल, फेल्टका उत्पादन, शिरपोश र पाउपोश, चाँदीका गहना, हस्तकलाका सामान, प्राकृतिक रेशाका उत्पादन तथा नेपालको भूगोल विशेषका विशेष उत्पादन अमेरिकी बजारमा सहुलियतको लागि व्यापार वार्ता आरम्भ गरिनु आवश्यक देखिएको छ ।
वार्ता आरम्भ
वार्ता गर्दा सर्वप्रथम अमेरिकी पक्षसँग नेपालले हामी अमेरिकासँग यीयी तपसिलका वस्तुमा भन्सार सहुलियतको अपेक्षा गर्छाैं र अमेरिका कुनकुन वस्तुमा नेपालबाट सहुलियत भन्सार दरको अपेक्षा गर्छ भन्ने विषयमा सूची माग गर्नुपर्छ । ती सूची आदानप्रदान भइसकेपछि एचएसकोडअनुसार नै हरेक वस्तुमा भन्सारका दरहरू कति राख्ने, नेपालले कति दर घटाउने, अमेरिकाले कति दर घटाउने बारेमा दुवै देशका सहजता र बाध्यतासमेतलाई दृष्टिगत गरी मित्रवत् व्यापार वार्ता घनीभूत रूपमा सञ्चालन हुन आवश्यक देखिन्छ । व्यापार वार्ताका लागि अनावश्यक अहंकार र पर्ख र हेरको रणनीति लिएर बसेको खण्डमा अरू धेरै देशसँग व्यापार वार्ता सम्पन्न हुँदै जाँदा नेपालसँगको व्यापार वार्ता अमेरिकी प्रशासनको दृष्टिमा नपर्न पनि सक्छ ।
तसर्थ समय घर्की सकेको छैन तर घर्कन लागेको छ । सबैले आआफ्ना किसिमले व्यापारवार्ता सम्पन्न गरी सकेपछि हामीले प्रस्तुत गर्ने एजेन्डाहरूको औचित्य समाप्त हुन सक्छ । यस परिस्थितिमा नेपालले हाल प्राप्त गरिरहेको अमेरिकी बजार गुम्ने र घुमाउरो तरीकाले अन्य मुलुकका माध्यमबाट नेपाली वस्तु निर्यात गर्नुपर्ने विडम्बना भित्रिन पनि सक्छ । यस पक्षलाई पनि गम्भीर रूपमा ग्रहण गर्दै अमेरिकासँग व्यापार वार्तामा बस्न नेपालले तत्परताका साथ कार्य थालनी गर्न अबचाहिँ ढिलो गर्नु हुँदैन । तुरुन्त कार्यदल गठन गरी अमेरिकासँग व्यापार वार्ताको कार्य अघि बढाइ हाल्नुपर्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।