काठमाडौं। नेपालमा यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले पुस १८ र १९ मा ‘यामाहा सर्भिस इन्चार्ज मिट २०८१’ सम्पन्न गरेको छ । सेवाको गुणस्तर र सहकार्य बढाउन एवम् ग्राहक सन्तुष्टि सुधार गर्न आयोजित दुईदिने कार्यक्रममा यामाहाको राष्ट्रव्यापी डिलर नेटवर्कका ६९ सर्भिस इन्चार्जले भाग लिएका थिए ।
मिटले आर्थिक वर्ष २०८०/८१ र ८१/८२ को सेवा कार्यसम्पादन समीक्षा गर्ने, एमएडब्ल्यूद्वारा गरिएका नवीनतम सेवा पहलको बारेमा सहभागीलाई अपडेट गर्ने र सञ्चालन दक्षता बढाउन सर्भिस इन्चार्जको व्यवस्थापकीय शीप बढाउने प्लेटफर्मको रूपमा काम गरेको बताइएको छ । कार्यक्रमले डिलर नेटवर्कमा टोली निर्माण र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य पनि राखेको बताइएको छ । मिटमा सुधारिएको सेवा गुणस्तर, ग्राहक सन्तुष्टि बढाउने, ग्राहक प्रतिधारण बढाउने, सुव्यवस्थित सञ्चालन गर्ने र डिलर कार्य सम्पादनलाई सुदृढ बनाउने जस्ता अपेक्षित परिणामहरू समावेश भएको बताइएको छ ।
कार्यक्रममा एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले सेवा उत्कृष्टताप्रति यामाहाको प्रतिबद्धताबारे आफ्नो विचार व्यक्त गरेका थिए । ‘उत्कृष्ट सेवा नै हाम्रा ग्राहकहरूसँग दिगो सम्बन्ध निर्माणको आधारशिला हो भन्नेमा यामाहा विश्वास गर्दछ,’ उनले भने, ‘यो कार्यक्रम हाम्रा सर्भिस इन्चार्जहरूका लागि उनीहरूको शीप बढाउने, सञ्चालन सुधार गर्ने र हाम्रा ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने अवसर हो ।’