काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा गत साताको तुलनामा करीब १० प्रतिशत कम कारोबार भएको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत साता २५ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको ७ करोड ५४ लाख ४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको ६ करोड ४५ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
गत साताको तुलनामा यो साता कारोबार रकम २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ८ लाख ६० हजारभन्दा बढीले घटेको हो । औसतमा यो साता ४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको १ करोड २९ लाख ८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता औसतमा ५ अर्ब १९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको १ करोड ५० लाख ८० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । औसतमा यो साता गत साताको तुलनामा कारोबार रकम ५१ करोड ५८ लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २१ लाख ७२ हजारभन्दा कम भएको हो ।
समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक पनि यो साता १७ दशमलव शून्य ८ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८४ दशमलव शून्य ९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६७ दशमलव शून्य १ विन्दुमा झरेको हो ।
यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक शुरुका तीन कारोबार दिन निरन्तर बढेको थियो भने पछिल्लो दुई कारोबार दिन निरन्तर घटेको थियो । पहिलो कारोबार दिन १० दशमलव ३७ अंक, दोस्रो दिन १० दशमलव २६ अंक र तेस्रो कारोबार दिन १४ दशमलव ८८ अंक बढेको नेप्से चौथो कारोबार दिन २१ दशमलव ६७ अंक र पाँचौं कारोबार दिन ३० दशमलव ९२ अंक घटेको हो ।
लगानीकर्ता बजार अझै माथि जाने आशामा रहेको देखिए पनि बजारमा माग भने बढ्न नसकेको अवस्था छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि लगानीको माग भने कम रहेको बैंकरहरू बताउँछन् । यस वर्ष सूचीकृत कम्पनीहरूको लाभांशमा आकर्षित हुने अवस्था नरहेकाले पनि बजारमा लगानी कम भएको बुझाई ब्रोकरहरूको छ ।
लगानीकर्ता उत्साहित नहुँदा सातामै कुल बजार पूँजीकरण २४ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब ३९ करोड रुपैयाँ कायम भएको हो ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
यो साता अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाए
यो साताको कारोबारमा तीन समूहगत परिसूचकहरू गत साताको तुलनामा बढेका छन् । अन्य समूहको परिसूचक गत साताको तुलनामा सर्वाधिक ३ दशमलव ८५ प्रतिशत बढेको हो । योसँगै व्यापारिक समूहको शून्य दशमलव ६४ प्रतिशत र जलविद्युत समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ ।
यो साता होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव ९७ प्रतिशत घटेको छ । त्यस्तै लघुवित्तको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव २३ प्रतिशत, बैंकिङको २ दशमलव १३ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ८४ प्रतिशत, विकास बैंकको १ दशमलव ६६ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य ८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५५ प्रतिशत वित्तको शून्य दशमलव ४१ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ ।
परिसूचकमा देखिएको परिवर्तनका आधारमा यो साता अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।