काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।
यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो ।
ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ ।
यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।
यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् ।
अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ ।
अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो
यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।
यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।
हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ ।
यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।