काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार गत साताको तुलनामा घटेको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत साताको तुलनामा यो साता नेप्से परिसूचक १ दशमलव ६४ प्रतिशत अर्थात् ३४ दशमलव २९ अंक घटेको छ ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ९६ दशमलव ३२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६२ दशमलव शून्य ३ विन्दुमा बन्द भएको हो । यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन घटेको छ भने दुई कारोबार दिन बढेको छ । पहिलो कारोबार दिन १० दशमलव ५० अंकले घटेको बजार दोस्रो दिन १५ दशमलव ३३ अंकले बढेको छ । त्यस्तै तेस्रो दिन ३० दशमलव ५६ अंकले घटेको बजार चौथो दिन ५ दशमलव ९१ अंकले बढेको छ भने पाँचौं दिन १४ दशमलव ४६ अंकले घटेको छ ।
यो साताको कारोबार हेर्दा बजार एक दिन बढ्ने र अर्को दिन घट्ने देखिएको छ । लगानीकर्ताको सक्रियता अल्पकालीन कारोबारमा रहेको ब्रोकर बताउँछन् । लगानीकर्ता बजार अझै माथि जाने अपेक्षामा रहे पनि दीर्घकालीन लगानीका लागि भने डराइरहेको ब्रोकरको अनुमान छ । धितोपत्र बजारमा लगानीका लागि पर्याप्त आधार रहे पनि लगानीकर्ताको आत्मबल बढ्न नसक्नु बजारले गति लिन नसक्नुको प्रमुख कारण रहेको ब्रोकरको बुझाई छ ।
यो साता नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत साता १४ अर्ब ३० करोड ११ लाख रुपैयाँभन्दा बढीको ४ करोड १२ लाख ९२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २० अर्ब ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीको ५ करोड ६६ लाख १४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
गत साताको तुलनामा यो साता कारोबार रकम ६ अर्ब १६ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ५३ लाखभन्दा बढी भएको हो । औसतमा समेत यो साता कारोबार रकम र कित्ता दुवै बढेको छ । गत साताभन्दा यो साता औसतमा कारोबार रकम १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी र औसत कारोबार कित्ता ३० लाख ६४ हजारले बढी भएको हो ।
बजार घट्दा कुल पूँजीकरण पनि १ दशमलव ६४ प्रतिशत कम भएको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रहेको कुुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । यो साता लगानीकर्ताले ५३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति मूल्य गुमाएका छन् ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
वित्त र जलविद्युत् समूहको मात्र परिसूचक बढ्यो
यो साताको कारोबारमा दुई समूहगत परिसूचक मात्र बढेका छन् । गत साताको तुलनामा वित्त समूहको २ दशमलव शून्य ५ प्रतिशत र जलविद्युत् समूहको १ दशमलव शून्य २ प्रतिशत परिसूचक बढेको हो । बाँकी समूहको परिसूचक भने यो साता घटेको छ । यो साता सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ३ दशमलव ८१ प्रतिशत घटेको हो ।
त्यस्तै व्यापारिक समूहको २ दशमलव ९० प्रतिशत, अन्यको २ दशमलव ९० प्रतिशत, जीवन बीमाको २ दशमलव ६३ प्रतिशत, बैंकिङको २ दशमलव ५२ प्रतिशत, लगानीको १ दशमलव ९० प्रतिशत, लघुवित्तको १ दशमलव ७९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४९ प्रतिशत परिसूचक घटेको छ ।
परिसूचक घटेको आधार मान्दा यो साता वित्त समूहले सबैभन्दा बढी कमाएका छन् भने होटल तथा पर्यटन समूहले सबैभन्दा बढी गुमाएका छन् ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।