काठमाडौं । नेपाली फेसन उद्योगकी सूत्रधार ज्ञानीशोभा तुलाधरलाई यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
न्यू बिजनेश एज लिमिटेडको आयोजना गरेको पाँचौं संस्करणको ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५’मा उनलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा भइरहेको पाँचौं संस्करणको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट यस वर्ष नेपाली फेसन उद्योगका सूत्रधार ज्ञानीशोभा तुलाधरलाई सम्मान गरिएको छ ।
प्रभु बैंकको मुख्य प्रायोजनमा भइरहेको उक्त कार्यक्रममा महिला उद्यमशीलता र नेपाली फेसन उद्योगमा पुर्याएको योगदानको कदरस्वरूप ज्ञानीशोभालाई उक्त सम्मान प्रदान गरिएको हो ।
उनलाई नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवाल, न्यू बिजनेश एजका अध्यक्ष मदन लम्साल, हिमालयन इन्डस्ट्रीका सीईओ निरज सुवेदीलगायतले संयुक्तरूपमा सम्मानपत्र र ट्रफी हस्तान्तरण गरे ।
काठमाडौंमा सन् १९५७ मे ७ मा जन्मेकी तुलाधर झण्डै ५ दशकदेखि नेपाली फेसन उद्योगमा सक्रिय छन् । सन् १९७० ताका एउटा सिलाइ मेसिनबाट आफ्नो उद्यम यात्रा शुरू गरेकी उनी नेपालकै पहिलो स्नातक तहको फेसन टेक्नोलोजी कलेजकी संस्थापक पनि हुन् ।
फेसन शिक्षाको आधारशिला बसाल्न उनले सन् १९९७ मा ‘नमुना इन्स्टिच्युट अफ टेक्नोलोजी’ स्थापना गरिन् । र, सन् २००२ मा ‘नमुना कलेज अफ फेसन टेक्नोलोजी’ खोलिन् ।
उनी १०० भन्दा बढी नेपाली चलचित्रका पोशाक डिजाइनर, अन्तरराष्ट्रिय फिल्म ‘द लाइट ट्रेन टु काठमाडौं’ र फ्रेन्च फिल्म ‘यती’की पोशाक डिजाइनर पनि बनिसकेकी छन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक तुलाधरले भारतको महाराष्ट्रस्थित जापरकर कलेज अफ फेशनबाट फेशनका विषयमा उच्च शिक्षा लिएकी हुन् ।
उनी पूर्वाञ्चल विश्वविद्यालयको एकेडेमिक काउन्सिलकी सदस्य पनि रहिसकेकी छन् ।