सरकार, विश्वविद्याय तथा विद्यालय सबै क्षेत्रबाट शिक्षामा सुधारको शुरुआत हुनुपर्छ । तर, यी निकायले यसबारे खासै चासो दिएका छैनन् । कतिपय दृष्टिकोणमा त यी निकायले सुधारको महत्त्व नै बुझ्न सकेका छैनन् । त्यसैले यथास्थितिमा शिक्षामा सुधार होला भनेर आशा गर्न सकिँदैन । सबैभन्दा पहिला त शिक्षा नीति र नेतृत्वमै सुधार हुनुपर्छ । तर, यहाँ सुधारका नाममा विद्यालयदेखि विश्वविद्यालयसम्मलाई आफ्ना मानिस भर्ती गर्ने अखडाका रूपमा विकास गरियो ।
शिक्षामा सुधार गर्ने कुरा नारामा मात्र सीमित भएको छ । मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि न शिक्षा नीति परिवर्तन भयो न त पाठ्यक्रम नै । रोजगारीका लागि विदेशिइरहेको शिक्षित अशिक्षित दुवै वर्गको जनशक्ति विनाशीपको छ । हाम्रो शिक्षा नीति रोजगारी उन्मुख अर्थात् प्रयोगात्मक र व्यावसायिक भएको भए अहिलेका भन्दा दोब्बर विप्रेषण मुलुकमा भित्त्याउन सकिन्थ्यो ।
(शिक्षाविद् डा. तीर्थ खनियाँसँगको कुराकानीबाट) वर्ष ८, अंक १४७, बुधवार, २ फागुन, २०६९