काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको शेयर सूचीकृत भएको छ । साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जर पश्चात बनेको कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट शेयर सूचीकृत भएको हो ।
यी दुई कम्पनीबिच १ः०.८२५० को अनुपातमा मर्जर भएको थियो । मर्जर पश्चात हुदाँ कायम हुन आएको १ करोड ९० लाख ४५ हजार ६८० कित्ता साधराण शेयर युनाइटेड अजोड इन्स्योरेन्सको नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले रू. ४८९ दशमलव ४९ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही ओपनिङ्ग रेञ्जलाई आधार मानेर कम्पनीको शेयर सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले युएआईएल कारोबार संकेत प्रदान गरेको छ ।
त्यस्तै नेप्सेले साबिक अजोड इन्स्योरेन्सको शेयर सूचीकरण खारेज गरी युनाइटेड अजोड इन्स्योरेन्सको नाममा शेयर सूचीकरण भएको पनि जनाएको छ ।