उद्योग व्यवसायमा समाजवादी मितव्ययी नवप्रवर्तनको अवधारणाबारे विगतका अंकमा चर्चा भइसकेको छ । नेपालमा यसको प्रयोग लघुउद्यम कार्यक्रमका रूपमा सफलतापूर्वक भइसकेको कुरा पनि उल्लेख गरिसकिएको छ र लघुउद्यमको परिचय पनि दिइसकिएको छ । प्रस्तुत लेखमा यूरोपमा भएको मितव्ययी नवप्रवर्तनको सफलताको कथा प्रस्तुत गर्ने जमर्को गरिएको छ । यो अनुभव नेपालका उद्योगी व्यवसायीहरूका लागि पनि प्रेरणादायी र अनुकरणीय हुने अपेक्षा गरिएको छ ।
लोगन र डासिया ब्रान्डले रेनोंका उत्पादन विलासी र खर्चिला हुन्छन् भन्ने पुरानो जनधारणा हटाएर सस्तो र टिकाउ हुन्छन् भन्ने विश्वास जनमानसमा स्थापित भयो ।
फ्रान्समा मोटरकार बनाउने रेनों नाम गरेको एउटा ख्यातिप्राप्त कम्पनीको सम्बन्धमा चर्चा गरिएको सन् १९९९ तिरको कुरा हो । त्यसबेला कम्पनीका मालिक लुइस चेवाइजर थिए । यसका प्रमुख व्यवस्थापक हर्टिङ्गर थरका व्यक्ति थिए । २ वर्षअघि चेवाइजर रूसतिर घुम्न गएका बेला उनले त्यहाँको स्थानीय बजारमा अलि पुरानो मोडेलको ‘लाडा’ ब्रान्डको कार बढी प्रचलनमा रहेको र निकै प्रख्यात पनि रहेको पाए । स्थानीय उपयोगकर्तासँग बुझ्दा यसको मुख्य कारण थियो– कार चुस्त तथा छरितो हुनु र त्यसको मूल्य सस्तो ६ हजार डलर मात्र हुनु । उनले विचार गरे– त्यो पुरानो मोडेलको कार हो । अहिले प्रविधिको धेरै विकास भइसकेको छ । त्यसको मुख्य आकर्षण भनेको छरितो र सस्तो हुनु हो । यदि मैले प्रविधिको प्रयोग गरेर छरितो र सस्तो मूल्यको आधुनिक कार उत्पादन गरें भने मेरो कम्पनीको उत्पादनले विश्व बजारको ठूलो अंश ओगट्न किन नसक्ने ?
चेवाइजरले आफ्ना व्यवस्थापक हर्टिङ्गरलाई आदेश दिए– एउटा आधुनिक किफायती, छरितो र विश्वसनीय कारको डिजाइन र योजना तयार पार, अब नयाँ उत्पादन बजारमा पठाउनुपर्छ । यसरी उनले चारओटा शब्दमा आधारित कारको ढाँचा निर्माण गर्न लगाए । रूसमा उत्पादित लाडा ब्रान्डको जस्तै कार फ्रान्समा उत्पादन गर्ने हो भने कारको लागत निकै बढी पर्छ किनभने फ्रान्सको सार्वजनिक सेवा मूल्य रूसको दाँजोमा अत्यधिक बढी थियो । त्यसैले चेवाइजरले राखेको शर्त पूरा हुन सम्भव थिएन । हटिङ्गरले विचार गरे– आफ्ना मालिकले त अझ सस्तो किफायती मात्र होइन आधुनिक, छरितो र विश्वसनीय पनि हुनुपर्ने शर्त राखेका छन् ।
त्यस ताका पश्चिमेली अर्थतन्त्र तथा उत्पादन प्रणाली ‘थोरैका लागि धेरै’ भन्ने थियो । अर्थात् थोरै संख्यामा रहेका धनाढ्य वर्गसँग मात्र क्रयशक्ति धेरै हुने भएकाले उनीहरूले मात्र किन्न र खपत गर्न सक्ने खालका विलासी र बढी मूल्यका सामान उत्पादन गरेर मात्र धेरै फाइदा हुन्छ भन्ने मान्यतामा आधारित थियो, यो भनाइ । सानै वस्तु भए पनि ठूलै अध्ययन अनुसन्धान गरी अत्यधिक मूल्य वृद्धि गरेर तथा बढी नै विलासी बनाएर धेरै मूल्यमा बेच्नुपर्छ भन्ने उनीहरूको विश्वास थियो । त्यसैले पश्चिम यूरोपतिर निर्माण गरिने कारहरू मालदार क्रेताहरूलाई मात्र लक्षित गरेर बढी मूल्यका, सुविधायुक्त, विलासी तर विश्वसनीय खालको उत्पादन गरिन्थ्यो ।
कम्पनीका व्यवस्थापक हर्टिङ्गरको मुख्य चुनौती थियो– थोरैका लागि धेरै भन्ने मान्यतालाई ‘धेरैका लागि थोरै’ भन्ने मान्यतामा कसरी रूपान्तरण गर्ने ? यसको अर्थ कसरी आम उपभोक्ताका लागि थोरै मूल्यका कार उत्पादन गर्ने ? त्यो पनि अझ आधुनिक, छरितो र विश्वसनीय हुनुपर्ने शर्त छँदै छ । अब पहिले थोरै धनाढ्यको लागि उपयोग गरी आएको प्रविधि र पद्धतिलाई परिमार्जन गरी तथा सुपथ मूल्यको बनाई आम जनताका लागि पनि उपयोगी हुनसक्ने स्थिति सृजना गर्नुपर्ने थियो । हर्टिङ्गरले चेवाइजरसँग व्यापक रूपमा छलफल गरे । सन्दर्भ सामग्रीहरूको पनि अध्ययन गरे र देहायका अवस्था र व्यवस्था परिवर्तन गरी कार उत्पादन गर्ने टुंगोमा पुगे ।
पहिलो, थोरैका लागि धेरैको मान्यतामा अडेर ठूला धनाढ्य उपभोक्तालाई लक्षित गरेर उत्पादन गरिआएको पाश्चात्य ढाँचाको उत्पादन प्रणालीको सट्टा झन्डै ८० प्रतिशतको हाराहारीमा रहेका मध्यमवर्गीय उपभोक्तालाई लक्षित गरी धेरैका लागि थोरै भन्ने मान्यतामा आधारित सस्तो मूल्यमा सामान उत्पादन गर्ने रणनीति अपनाउने निर्णय भयो । दोस्रो, साविकको रेनों कम्पनीमा ठूलो नै राम्रो भन्ने मान्यता राख्ने पुराना विचारका इन्जिनीयरहरूमा भर पर्नुको सट्टा सानो नै राम्रो भन्ने मान्यता राख्ने नवप्रतिभाशाली इन्जिनीयरहरू उपयोग गर्ने निधो भयो । तेस्रो, सार्वजनिक सेवा मूल्य अत्यधिक बढी भएको आफ्नो मुलुकमा उत्पादन गर्दा लागत बढी पर्न जाने भएकाले उक्त मूल्य निकै कम रहेको रोमानिया उपयुक्त मुलुक हुने भएकाले रेनों कम्पनीले त्यहाँको डासिया नामको कम्पनीको शेयर खरीद गरी विदेशी लगानीको स्वामित्व प्राप्त गर्यो र संयुक्त लगानीको उद्योग सञ्चालन गर्ने निधो गर्यो ।
चौथो, उक्त विदेशी लगानीको कम्पनी कामकाज सञ्चालन गर्न दुवै मुलुकका इन्जिनीयरहरूको संयुक्त टीम बनाइयो । स्थानीय इन्जिनीयरहरू सबै फुर्तिला युवा भर्ना गरियो । कमै तलब सुविधामा पनि उनीहरूको मनोबल र उत्प्रेरणा उच्च थियो । स्थानीय भाषा संस्कृतिको ज्ञान भएकाले उनीहरूमा स्थानीय वातावरणमा भिज्ने क्षमता पनि थियो । उनीहरू कम्युनिस्ट मुलुकमा हुर्केकाले अति मितव्ययी हुनुका साथै थोरै स्रोतबाट धेरै उत्पादन गर्न सक्ने क्षमता थियो । त्यस्तै रेनों कम्पनीका इन्जिनीयरहरू अलि वयस्क र पाका थिए, नयाँ डिजाइनहरू निर्माण गर्न सिपालु थिए र आफ्नो मातृ कम्पनी रेनोंको संस्कार र तौरतरीकाको राम्रो ज्ञान थियो ।
पाँचौं, दुवै मुलुकका इन्जिनीयरहरूको संयुक्त टीमले पहिले रेनोंले प्रयोग गर्दै आएको भन्दा ५० प्रतिशत कम पार्टपुर्जाहरू प्रयोग भएको, चलाउन सजिलो, इन्धन कम लाग्ने, २०० किलोसम्मका दुई बोरा सामान अटाउने, चार जनासम्मको परिवारले यात्रा गर्ने, स्थानीय इलाकामा मरम्मत हुन सक्कने, कम लागत र कम समयमा तयार हुने, साविकको भन्दा धेरै सस्तो, आकर्षक, टिकाउ, स्तरीय र सुरक्षित कारको डिजाइन तयार पारे । त्यसमा बढी महँगा र विलासी खालका इलेक्ट्रोनिक सामानहरू प्रयोग गरिएका थिएनन् । यति भएपछि चेवाइजरले हर्टिङ्गरलाई भनेका चारओटा शर्त पूरा नहुने कुरै भएन । ६ हजार डलर मूल्यको उक्त कारको माग स्थानीय बजारमा र यूरोपेली बजार ह्वात्त बढ्यो ।
अन्तिम कुरा, उत्पादित कारलाई छुट्टै पहिचान दिन तथा प्रयोगकर्ताहरूबीच छुट्टै ख्याति आर्जन गर्न तथा विक्री प्रवर्द्धनका लागि विज्ञापन समेत गर्न ‘लोगन’ भन्ने टे«डमार्क दर्ता गरेर कारको विक्री प्रारम्भ गरियो । सन् २००८ को मन्दीले गर्दा पश्चिम यूरोप र खाडी क्षेत्रमा पनि उपभोक्ताले अत्यधिक विलासी र महँगा कारभन्दा यस्तै चुस्त र छरिता कारहरू अत्यधिक मन पराए । रेनोंको उक्त भगिनी कम्पनी डासियाले कम्पनीकै नामबाट डासिया ट्रेडमार्क दर्ता गराएर त्यस्तै छरिता र चुस्त भ्यान र पीकअप समेत उत्पादन गर्यो । ती उत्पादन पनि यूरोपेली बजारमा निकै प्रख्यात भए । फलत: सन् २००८ मा ती उत्पादनले विश्वको २० प्रतिशत बजार ओगटेकोमा सन् २०१३ मा त्यो अंश ४० प्रतिशत पुग्यो । डासियामा सबै उत्पादन सुपथ मूल्यका मात्र होइन, वातावरणमैत्री पनि थिए र कार, भ्यान तथा पीकअपका पार्टपुर्जाहरू स्थानीय रूपमा मरम्मत पनि हुने र रिसाइकल पनि हुने खालका थिए ।
यसरी लोगन र डासिया ब्रान्डको चामत्कारिक सफलताले रेनोंका उत्पादन विलासी र खर्चिला हुन्छन् भन्ने पुरानो जनधारणा हटाएर सुपथ र टिकाउ हुन्छन् भन्ने विश्वास जनमानसमा स्थापित भयो र उपभोक्तामाझ दिगो पहिचान स्थापित भयो । यो सफलताको कथा सबै उद्योग व्यवसायीका लागि प्रेरणादायी रहेको छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।