चितवन । युवालाई स्वदेशमै उद्यमी बनाउन र रोजगारी प्रदान गर्ने उद्देश्यले भरतपुरमा ‘युवा उद्यम प्रवर्द्धन कार्यक्रम’ गरिएको छ । कार्यक्रममा युवालाई उत्प्रेरणा र प्रोत्साहन गर्न चितवनका सफल पाँच युवाको सफलताको कथा र अनुभव प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कृषि क्षेत्रका सफल किसान लेखनाथ भुसाल, सैलुन क्षेत्रका सफल व्यवसायी सुलभ श्रेष्ठ, भर्मी कम्पोष्टका सफल किसान पुरूषोत्तम अधिकारी, मौरीपालन क्षेत्रका सफल व्यवसायी करूणासागर सुवेदी र खाद्य उद्योगका सफल व्यवसायी केशव पौडेलको उद्यम भिडियोमार्फत प्रदर्शन गरिएको थियो । कार्यक्रममा उनीहरूले आफ्नो अनुभव, प्रेरणा र व्यवसायका चुनौतीका विषयमा बताएका थिए ।
भरतपुर महानगरपालिका–२५ का किसान लेखनाथ भुसालको नेतृत्वमा ३० जना युवाले हाल एक सय बिघामा तरकारी खेतीसहितको ‘युवा आधुनिक सामूहिक तरकारी खेती’ नामको फार्म सञ्चालन गरेका छन् ।
भरतपुर महानगरपालिका–२५ का किसान लेखनाथ भुसालको नेतृत्वमा ३० जना युवाले हाल एक सय बिघामा तरकारी खेतीसहितको ‘युवा आधुनिक सामूहिक तरकारी खेती’ नामको फार्म सञ्चालन गरेका छन् । अर्का व्यवसायी भरतपुर–१० सुलभ सिग्देलले भरतपुरको सिजी ल्यान्डमार्कमा ‘पपुलर युनि सेक्स सैलुन’ खोलेका छन् । उनले युवालाई नि:शुल्क कपाल काट्ने तालीमसमेत दिँदै आएक बताए । उनले सामुदायिक स्कुलमा पुगेर विपन्न विद्यार्थीको नि:शुल्क कपाल काट्नेसमेत काम गर्दै आएका छन् । उनको सैलुनमा १० जनाले रोजगारी पाएका छनु । उनले आफूबाट कपाल काट्ने काम सिकेर धेरै युवा उद्यमी बनेको बताए ।
गैंडाकोटको विजयचोकका करुणासागर सुवेदीले ‘सागर मौरीपालन उद्योग’ सञ्चालनमा ल्याएका छन् । भरतपुर–६, पारसनगरमा ‘पिएस के टे्रडर्स’ खाद्य उद्योग सञ्चालनमा ल्याएका केशवराज पौडेलले आलुचिप्स लगायत खाद्य उत्पादन गर्दै आएका छन् । उद्योगमा हाल २० जनाले रोजगारी पाएको उनले बताए ।
१९ वर्षको उमेरमा उद्यमी बनेका पुरूषोत्तम अधिकारीले भर्मी कम्पोष्ट मल उत्पादन गरेर बजार पठाइरहेका छन् । ‘कामधेनु एग्रो एण्ड एनिमल इष्टिग्रेट’ फर्म दर्ता गरेर मल उत्पादन गर्दै आएका अधिकारीले महीनामा ९ टन मल उत्पादन गरिरहेको बताए ।