काठमाडौं । मनसुन शुरू भइसकेकाले असारको मध्यसमयमा बुधवार हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मौसमलाई निर्वाचन आयोगले मुख्य चुनौतीका रूपमा लिएको छ । तीनओटा प्रदेशमा हुन लागेको निर्वाचनमा वर्षात्का कारण समस्या निम्तिने हो कि भन्ने चिन्ता रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन् । मतदानका क्रममा मौसमले प्रभावित बनाउन सक्ने भएकाले सोहीअनुसार तयारी गर्न जिल्लास्थित निर्वाचन कार्यालयहरूलाई निर्देशन दिइएको आयोगले बताएको छ । त्यसबाहेक सुरक्षा प्रबन्ध सबल बनाइए पनि केही न केही सुरक्षा चुनौती रहिरहने भएकाले सबैले चनाखो हुनुपर्ने आयोगको भनाइ छ ।
चुनाव बहिष्कार गरेका राजनीतिक दल र विभिन्न स्थानमा बम राखेर तर्साउँदै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बुधवार हुने निर्वाचनका लागि चुनौतीका रूपमा देखिएका छन् । तर, सुरक्षा निकायले भरपर्दो सुरक्षा प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आग्रह गरेको छ ।
गृहमन्त्री जनार्दन शर्माले निर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएकोले ढुक्क भएर मतदान गर्न आग्रह गरिसकेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र नेपाली सेनासमेत चुनावी सुरक्षामा खटिएको छ । संवेदनशील मानिएका क्षेत्रमा हेलिकोप्टरमार्फत पनि गस्ती गर्ने गरी तयारी गरिएको गृह मन्त्रालयले बताएको छ ।
ढुक्क भएर मतदान गर्नुस् : डा. यादव
बुधवार हुन लागेको दोस्रो चरणको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबै मतदातालाई आग्रह गरेका छन् । मङ्गलवार आयोग परिसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रका लागि १ दिन दिई दुःख सहेर भए पनि मतदानमा सहभागी भई आफूले रोजेको योग्य उम्मेदवारलाई मतदान गर्न मतदाताहरूसँग अनुरोध गरे ।
दोस्रो चरणअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । १५ हजार ३८ जनप्रतिनिधिका लागि ६२ हजार ४ सय ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सोमध्ये ४१ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले बताएको छ । निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक नै ६६ हजार ९ सय कर्मचारी खटिएको आयोगको भनाइ छ ।
आचारसंहिताको पूर्णपालना गरी मतदातालाई मताधिकारको सुनिश्चित हुने सहज वातावरण निर्माणका लागि सबैसँग सहयोगका लागि आयोगले अनुरोध गरेको छ । आचारसंहिता उल्लङ्घनका गम्भीर घटनाबारे कुनै उजुरी आएमा जिल्लामा रहेका निर्वाचन अधिकृतहरूलाई नै कानूनअनुसार कारवाही गर्न आयोगले निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता शर्माले भने, ‘बुधवार हुने निर्वाचन सहज वातावरणमा शान्तिपूर्ण रूपले सम्पन्न हुन्छ ।’
सरकारी कागजातले पनि भोट हाल्न पाइने
मतदाता नामावलीमा नाम भएका मतदाताले आयोगले उपलब्ध गराउने मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ । प्रमुख निर्वाचन आयुक्तको अध्यक्षतामा मङ्गलवार बसेको बैठकले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताको मतदान गर्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्ने निर्णय गरेको हो । आयोगले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको बताएको छ । मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिकाबमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था पनि आयोगले मिलाएको छ ।
यसअघि वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ का २ सय ८३ स्थानीय तहको निर्वाचन सम्पन्न भएर चितवनको भरतपुर महानगरबाहेकको नतीजा सार्वजनिक भइसकेको छ । निर्वाचन हुन बाँकी २ नं. प्रदेशमा आगामी असोज २ गते तेस्रो चरणमा निर्वाचन गर्ने सरकारले घोषणा गरेको छ । वैशाख ३१ गते एकै चरणमा तोकिएको स्थानीय तह निर्वाचन राजनीतिक सहमतिका लागि भन्दै सरकारले जेठ ३१, असार ९, असार १४ हुँदै असोज २ गतेसम्म पुर्याएको हो ।