काठमाडौं । नेपाल आयल निगम लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने लगायत प्रस्ताव पारितका लागि चैत २९ गते ४३औं वार्षिक साधारण सभा बोलाएको छ ।
चैत ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्षमा अपराह्न १ बजे सभा गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कम्पनीले करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाले पारित गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन, २०६३ को दफा २१ बमोजिम स्वीकृत गर्ने विषय पनि सभाका लागि तय भएको छ ।