नेपालको पूर्वका चार जिल्लाका १२ हजार हेक्टर जमीन रबर खेतीका लागि उपयुक्त देखिएको छ । कृषि विभागअन्तर्गतको औद्योगिक बाली विकास निर्देशनालयले गरेको अध्ययनले यस्तो देखाएको हो । निर्देशनालयले झापा, मोरङ, सुनसरी र इलाम जिल्लामा रबरखेतीको सम्भाव्यता अध्ययन गरेको निर्देशनालयकी निर्देशक निरू दाहाल पाण्डेले जानकारी दिइन् । उनले भनिन्, ‘हाल सो क्षेत्रमा करीब ३ सय बिगाहामा मात्र रबरखेती भइरहेको छ ।’
अमेरिकाको टेक्सासमा दर्ता भएको इन्ष्टिच्युट अफ रबर एण्ड ज्याट्रोफा रिसर्च नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष ती चार जिल्लामा रबरखेती गर्ने प्रस्ताव राखेपछि सो अध्ययन गरिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । उनका अनुसार सो इन्ष्टिच्युटले गत वैशाखमा प्रधानमन्त्रीसमक्ष यस्तो प्रस्ताव राखेको थियो । वार्षिक करीब २ सय मेट्रिक टन रबर उत्पादन गरिरहेको अध्ययनको प्रारम्भिक प्रतिवेदन रहेको छ ।
वर्ष ८, अंक १४५, सोमवार, २८ माघ, २०६९