काठमाडौं । मंगलवार (आज) नेप्से परिसूचक १ दशलमव २६ प्रतिशत घटेर २५ सयको विन्दुमा झरेको छ । आज नेप्से २ हजार ५७६ दशमलव ५० विन्दुमा झरेको हो । यसअघि गत आइतवार नेप्से शून्य दशमलव ८० प्रतिशत घटेको थियो ।
बजार घट्दा वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकलाई केन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गरेपछि र पोखरा फाइनान्स संकटोन्मुख भएको समाचार सार्वजनिक भएपछि वित्तीय अवस्था नाजुक भएका कम्पनीको शेयरमा विक्रेता हाबी भएका छन् । जसका कारण मंगलवार वित्त समूहको सूचक ५ दशमलव १९ प्रतिशत र विकास बैंक समूहको सूचक २ दशमलव ७७ प्रतिशत घटेको छ । यी समूहका कम्पनीको शेयर मूल्य नेगेटिभ सर्किट लेभलमा घटिरहेका छन् । यसले गर्दा पनि समग्र शेयर बजार प्रभावित भएको जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९५ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव १७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ९६ प्रतिशत घटेको छ ।
आज ३०८ धितोपत्रको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयर ६९ हजार ९२३ पटकमा रू. ५ अर्ब ६७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशलमव ०१ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९८५ पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ४ प्रतिशत बढेर रू.४ हजार १७४ पुगेको छ ।
मंगलवार तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले घटेको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स र पोखरा फाइनान्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेको हो । सपोर्ट लघुवित्तको शेयर मूल्य रू. ३ हजार २२८ दशमलव ७०, जानकी फाइनान्सको रू. ७५० दशमलव १० र पोखरा फाइनान्सको रू. ५१९ दशमलव ३० मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा प्रभु बैंकले ओगटेको छ । यस बैंकको रू. ३५ करोड ९४ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २३८ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्स छ । कम्पनीको रू. १७ करोड ८७ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये अन्य समूहको सूचक शून्य दशमलव ०६ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको सूचक घटेको छ ।