काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को तेस्रो वित्तीय विवरणअनुसार १३ ओटा वाणिज्य बैङ्कको खुद मुनाफा १४ दशमलव ३२ प्रतिशत बढेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा हालसम्म प्रकाशित ती वाणिज्य बैङ्कको मुनाफा समग्रमा रू. २ अर्ब १० करोड बढेको हो । बैङ्कहरूको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद मुनाफा बढेको हो । साथै, बैङ्कहरूले चालू आवको तेस्रो त्रैमासमा खराब कर्जा उठाउन सफल भएपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।
हालसम्म प्रकाशित भएका वित्तीय विवरणमध्ये नेपाल बैङ्कको खुद नाफा सबैभन्दा बढी छ भने प्रतिशतका आधारमा भने सेञ्चुरी कमर्शियल बैङ्क अग्रस्थानमा छ । सेञ्चुरी बैङ्कको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १ सय २ दशमलव ६२ प्रतिशत बढेर रू. ६३ करोड पुगेको छ । सो बैङ्कको खुद ब्याज आम्दानी ५९ दशमलव २८ प्रतिशत र सञ्चालन मुनाफा ८१ दशमलव २२ प्रतिशत बढेको हो । सेञ्चुरीले चालू आवको तेस्रो त्रैमाससम्ममा ५२ दशमलव ७३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ५० अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
चालू आवको तेस्रो त्रैमासमा नेपाल बैङ्कको खुद नाफा रू. २ अर्ब ५६ करोड पुगेको छ । गत आवको तुलनामा यो नाफा २ प्रतिशत बढी हो । यस बैङ्कको खुद ब्याज आम्दानी १२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४१ दशमलव ६७ प्रतिशत बढेको छ । बैङ्कले चालू आवको सोही अवधिमा रू. ३१ करोड ८९ लाख खराब कर्जा सङ्कलन गरेको छ ।
ग्लोबल आईएमई बैङ्क र एनआईसी एशिया बैङ्कको नाफा भने घटेको छ । ग्लोबल आईएमईको खुद ब्याज आम्दानी १ दशमलव ५५ प्रतिशत र सञ्चालन मुनाफा ७ दशमलव ३५ प्रतिशत घटेको छ । त्यस्तै एनआईसी एशियाको जगेडा कोष र सञ्चालन मुनाफा घटेपछि सो बैङ्कको नाफा घटेको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.