काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म २ करोड ४९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।
अघिल्लो वर्ष सो अवधिसम्म ४८ लाख ३२ हजार खुद नाफामा रहेको कम्पनी गत वर्ष भने नोक्सानीमा गएको हो । गत वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी १४ दशमलव ११ प्रतिशत कम हुँदा नाफामा असर परेको हो ।
गत वर्ष कम्पनीको प्रत्यक्ष खर्च ३ करोड २४ लाख रुपैयाँभन्दा बढी भएको छ । अघिल्लो वर्ष यो खर्च २ करोड ६५ लाख रुपैयाँभन्दा बढी थियो । व्यवस्थापकीय खर्च पनि अघिल्लो वर्ष ९० लाख ३३ हजार रुपैयाँभन्दा बढी भएकोमा गत वर्ष १ करोड ४८ लाख रुपैयाँभन्दा बढी भएको छ ।
कम्पनीको वित्तीय खर्च पनि बढेको छ । अघिल्लो वर्ष २५ लाख १६ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ६२ लाख ७२ हजार रुपैयाँ वित्तीय खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ७१ लाख ६२ हजार रुपैयाँ छ । शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने ९८ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ ।
दीर्घकालीन कर्जा ३७ करोड ३८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा ७ करोड ९७ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक १ रुपैयाँ १ पैसा प्रतिशेयर नोक्सानीमा रहेको यो कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०० रुपैयाँ ४२ पैसा छ ।