काठमाडौं । १५औं दक्षिण एसिया आर्थिक सम्मेलन शुक्रबार सम्पन्न भएको छ। यस सम्मेलनमा दक्षिण एसियाली मुलुकहरूका प्रतिनिधिहरू, प्रख्यात अर्थशास्त्रीहरू, नीतिनिर्माता र नागरिक समाजका अगुवाहरूले समतामूलक हरित रूपान्तरणको विषयमा छलफल गरेका थिए। सम्मेलनको मुख्य उद्देश्य दक्षिण एसियामा दिगो र समावेशी विकासका लागि आवश्यक नीतिहरूमा मार्गनिर्देशन प्रदान गर्नु थियो।
सम्मेलनको समापन सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका कारण दक्षिण एसियामा जोखिमहरू बढ्दै गएको र यसले क्षति र असमानता सिर्जना गरिरहेको बताए। उनले हरित अर्थतन्त्रको महत्त्वमा जोड दिदै यसले ऊर्जा र स्रोतको कार्यदक्षतामार्फत आर्थिक रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे। गभर्नर अधिकारीले साना तथा मझौला उद्यमहरूको हरित रूपान्तरण र ठूला हरित पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकतामा चर्चा गरे। नेपालले जलविद्युत क्षेत्र र हरित ऊर्जा विकासमा महत्त्वपूर्ण कदम चालेको बताउँदै नेपालले २०४५ को शून्य कार्बन लक्ष्य प्राप्तिका लागि वित्तीय स्रोतहरूको आवश्यकता औंल्याए।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सस्टेनेबल डेभलपममेन्ट पोलिसी इन्स्टीच्यूट पाकिस्तानका कार्यकारी निर्देशक अविद कुयम सुलेरी, साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड एन्भायरोमेन्टका अध्यक्ष डा। रत्नाकर अधिकारी लगायतका महत्त्वपूर्ण व्यक्तित्वहरूले सम्बोधन गरेका थिए। चन्द्रप्रसाद ढकालले दक्षिण एसियामा तीव्र आर्थिक विकास भइरहेको सन्दर्भमा क्षेत्रीय सहकार्यलाई थप सघन बनाउँदै साझा चुनौतीहरूको समाधान गर्न सकिने बताए। पाकिस्तानका अविद कुयम सुलेरीले यस सम्मेलनलाई नीतिगत छलफलको महत्त्वपूर्ण मञ्चको रूपमा देखे।
सम्मेलनको उद्घाटन सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले क्षेत्रीय सहकार्य र संवादका माध्यमबाट दक्षिण एसियामा रहेका विभिन्न चुनौतीहरूको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए। बंगलादेशको वातावरण, वन र जलवायु परिवर्तन मन्त्री सेयदा रिजवान हसनले क्षेत्रीय ग्रीड स्थापना गर्दै जलविद्युत व्यापारलाई सहजीकरण गर्नुपर्ने धारणा राखे।
सम्मेलनका विशेष वक्ताहरूले दक्षिण एसियामा आर्थिक एकता र मूल्य श्रृंखलाको विस्तारमा ध्यान दिनुपर्ने कुरा बताएका थिए। सेन्टर फर पोलिसी डायलगका अध्यक्ष डा। रेहमान सोभानले मूल्य श्रृंखला विस्तार नगरेमा दक्षिण एसियाको क्षेत्रीय एकता कमजोर हुने चेतावनी दिएका थिए। यसका साथै, दक्षिण एसियामा हरित मूल्य श्रृंखला विकासमा नेतृत्व गर्ने संस्थाको अभाव रहेको समस्यामा पनि छलफल भएको थियो।
सम्मेलनका सत्रहरूमा जलवायु परिवर्तन र हरित वित्तका विषयमा गहिरो छलफल भएको थियो। सम्मेलनका सहभागीहरूले साना र मझौला उद्यमहरूको हरित रूपान्तरणमा हुने कठिनाइहरूको चर्चा गर्दै यी उद्यमहरूलाई औपचारिकता र स्थायित्वका लागि एकीकृत रणनीति बनाउने आवश्यकता औंल्याए। दक्षिण एसियामा सर्कुलर अर्थतन्त्रको विकासको सम्भावना उजागर गर्दै यसका लागि प्रणालीगत सहकार्य र नवीन नीतिहरूको आवश्यकता रहेको भनाइ राखिएको थियो।
जलवायु परिवर्तनका कारण कृषि, पर्यटन र अन्य क्षेत्रहरूमा प्रत्यक्ष प्रभाव परेको चर्चा गरिएको थियो। सहभागीहरूले दिगो पर्यटन विकासका लागि आदिवासीहरूको भूमिका र हिमाली क्षेत्रलाई बचाउने महत्त्वमा जोड दिएका थिए। सम्मेलनले दक्षिण एसियामा हरित प्रविधि र वातावरणीय वस्तुहरूको व्यापारमा वृद्धि भएको र यसको लागि बहुपक्षीय र क्षेत्रीय संयन्त्रहरूको महत्त्वमा पनि चर्चा गरेको थियो।
सम्भाव्य अवरोधहरूको बारेमा छलफल गर्दै, सम्मेलनमा उल्लेख गरिएको थियो कि हरित वित्त अहिले भने विकसित मुलुक र दातृ निकायको आश्वासनमा सीमित रहेको छ। सत्रका निष्कर्षअनुसार, दक्षिण एसियामा दिगो मापदण्ड र औद्योगिक नीतिहरूको पुनरावलोकन गरेर यस क्षेत्रमा समतामूलक हरित रूपान्तरण गर्नुपर्ने महत्त्वपूर्ण आवश्यकता रहेको बताइएको थियो।
दक्षिण एसिया आर्थिक सम्मेलन सन् २००८ देखि आयोजना हुँदै आएको हो र यसले क्षेत्रीय विकासका प्रमुख चुनौतीहरूमा छलफल गर्नका लागि महत्त्वपूर्ण मञ्चको रूपमा काम गरिरहेको छ। सम्मेलनले दक्षिण एसियाली मुलुकहरूको आर्थिक एकता र समृद्धिका लागि क्षेत्रीय सहकार्यको महत्त्वलाई अझ प्रगाढ बनाएको छ।