काठमाडौं । अघिल्लो कारोबार दिन ६ दशमलव ५४ अंक बढेको बजार आज (बुधवार) १ दशमलव ८६ अंक मात्रै बढेर बन्द भएको छ ।
यससँगै नेप्से २ हजार ६८५ दशमलव ७३ विन्दुमा कायम भएको छ । सामान्य अंक बजार बढ्दा लगानीकर्ताको आकर्षण वित्त र विकास बैंक समूहका कम्पनीको शेयरमा परेको छ । यी दुई समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।
कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा आज बढेको छ । अघिल्लो कारोबार दिन रू. ७ अर्ब २४ करोड बराबरको कारोबार भएकोमा आज बढेर रू. ८ अर्ब ७१ करोडको भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०५ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १६ प्रतिशत वृद्धि भएको छ ।
आज ३०७ धितोपत्रको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर ८२ हजार ८५० पटकमा रू. ८ अर्ब ७१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४४० दशमलव ६० पुगेको छ । दोस्रोमा रिभर फल्स पावर कम्पनीको शेयर मूल्य ८ दशमलव ०२ प्रतिशत बढेर रू. ९०२ कायम भएको छ ।
बुधवार दुई कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । उपकार लघुवित्तको शेयर मूल्य रू. ४ हजार ६८० र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य रू. १ हजार ११७ दशमलव २० मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. ३९ करोड ६० लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४१९ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिइडिबी होल्डिङ्गस छ । कम्पनीको रू. ३७ करोड ६७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक शून्य दशमलव ९१ प्रतिशत घटेको छ ।