काठमाडौं । काठमाडौंको टोखामा ट्रकबाट बरामद भएको करीब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा तस्करीको मामलामा दुई जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको छ ।
राजस्व अनुसन्धान विभागको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले स्थानीय माओवादी नेता नारायण पौडेललाई मुख्य अभियुक्त बनाई उक्त रकम भेटिएको ट्रकका चालक फुच्चे भनिने कुसाङ लामासमेत विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मंगलवार जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गराई २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको राजस्व अनुसन्धान विभागका अधिकारीहरूले बताएका छन् । विदेशी मुद्रा अपचलनसम्बन्धी कसूरमा अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले बताइन् ।
गत चैत ४ गते प्रहरीले काठमाडौंको टोखा नगरपालिका, वडा नम्बर २, झोरस्थित सडकमा प्रतिवादी लामाले चलाएको ना७ख १६५२ नम्बरको कन्टेनर (ट्रक) मा उक्त रकम फेला पारेको थियो ।
विभागका अनुसार उक्त ट्रकमा ५००, २००, १०० र ५० दरको युरो १३ लाख ७५ हजार १५० र १०० र ५० दरको अमेरिकी डलर ३ लाख २० हजार ८०५ भेटिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुरक्षाकर्मीले खानतलासी गर्दा ट्रकमा चालक बस्ने ठाउँमाथिको क्याबिनमा फल्स बटम बनाएर राखेको अवस्थामा उक्त परिमाणमा विदेशी मुद्रा बरामद भएको थियो । चैत ५ गते नै प्रहरीले चालक र ट्रक थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको थियो ।
‘अनुसन्धानका क्रममा संकलित आधार प्रमाणबाट प्रतिवादीहरू कुसाङ लामा र नारायण पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४.५ र ९ को कसुरमा मुद्दा चलाइएको हो,’ उपमहानिर्देशक श्रेष्ठले भनिन् ।
उनका अनुसार बरामद भएको विदेशी मुद्रा चैत १२ गतेको नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमय दरअनुसार २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबर हुन्छ । सोही बराबर बिगो कायम गरी विभागले मुद्दा दायर गरेको हो । प्रतिवादी लामालाई सुन चोरी पैठारी कसुरमा काठमाडौं जिल्ला अदालतले २०७४ साउन २६ गते सजाय तोकेको थियो । एउटा सजाय भुक्तान गरेको ५ वर्षभित्रै अर्को कसुर गरेको देखिएकाले लामालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ बमोजिम थप सजाय हुनुपर्ने मागसमेत गरिएको छ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) बमोजिम बरामद भएको उक्त विदेशी मुद्रा जफत गर्न उक्त वारदातमा प्रयोग भएको ना७ख १६५२ नम्बरको कन्टेनर (ट्रक) कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७४ को दफा ११ बमोजिम जफतको गर्न माग गर्दै मुद्दा दायर गरिएको श्रेष्ठले जानकारी दिइन् ।
मुद्दाका प्रतिवादीमध्येका फरार नारायण पौडेल अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनको हकमा अदालतबाटै कानूनबमोजिमको म्याद जारी गर्न माग गरिएको छ ।
पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । उनी माओवादीका स्थानीय नेतासमेत हुन् । पौडेलका चार दाजुभाइ छन् । उनीहरू सबै कुनै न कुनै काण्डमा जोडिएका छन् । कोही सुन तस्करी, कोही हुन्डी, कोही विदेशी मुद्रा, कोही रक्तचन्दन तस्करीमा मुछिएका थिए ।