काठमाडौं । धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक २ हजार ७०० विन्दु तल झरेको छ ।
मंगलवार नेप्से परिसूचक शून्य दशमलव २८ प्रतिशत घटेर २ हजार ६९७ दशमलव शून्य ४ विन्दुमा बन्द भएको हो । यस दिन बजार २ हजार ७२३ दशमलव ८९ विन्दुसम्म पुगेको थियो भने २ हजार ६९० दशमलव ५८ विन्दुसम्म झरेको थियो ।
एक महीनापछि नेप्से परिसूचक २ हजार ६०० विन्दुमुनि झरेको हो । यस अघि गत फागुन ४ गते नेप्से परिसूचक २ हजार ६९८ दशमलव शून्य ३ विन्दुमा बन्द भएको थियो । फागुन ४ गतेपछि ९ कारोबार दिन निरन्तर बढेको बजार त्यसपछि भने नाफा बुक गर्ने हाबी हुँदा बजार प्रभावित बन्दै आएको छ ।
साताको पहिलो कारोबार दिनदेखि घटेको नेप्सेले मंगलवार पनि निरन्तरता पाएको हो । घटेको बजारमा ८६ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १५३ कम्पनीको धितोपत्र मूल्य घटेको छ । नेप्सेका अनुसार ४ कम्पनीको धितोपत्र मूल्य भने यो दिन स्थिर रहेको छ ।
मंगलवार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेर अन्तिम मूल्य १ हजार ८१० रुपैयाँ र हिमालयन पावर पार्टनरको ९ दशमलव ९० प्रतिशत बढेर अन्तिम मूल्य ६३३ रुपैयाँ कायम भएको छ ।
बजार घट्दा यी दुई कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा बढेको हो । यस दिन सामुदायिक लघुवित्तको शेयर मूल्य भने सर्वाधिक ८ दशमलव २१ प्रतिशत घटेर अन्तिम मूल्य २ हजार ३७० रुपैयाँ कायम भएको छ ।
पछिल्लो कारोबार दिन नेप्सेसँगै कारोबार रकमसमेत घट्दो क्रममै रहेको छ । फागुन ४ गतेपछिको कारोबारमा १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको धितोपत्र खरीदविक्री भएकोमा मंगलवार भने ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको मात्र धितोपत्र कारोबार भएको हो । यो रकम बराबरको ८२ लाख ३७ हजार ९०२ कित्ता धितोपत्र कारोबार भएको जानकारी नेप्सेले दिएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँभन्दा बढीको ९९ लाख ३५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
मंगलवार कुल कारोबारमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ११ लाख रुपैयाँभन्दा बढीको ३ लाख २३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्रा ९८६ रुपैयाँ कायम भएको छ । यस दिन कम्पनीको न्यूनतम ९८४ देखि अधिकतम १ हजार ७ रुपैयाँ ९० पैसासम्ममा शेयर कारोबार भएको देखिन्छ ।
मंगलवार कुल बजार पूँजीकरण ४४ खर्ब ७८ अर्ब ३१ करोड २७ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । सोमवार कुल बजार पूँजीकरण ४४ खर्ब ९१ अर्ब ३ करोड ३३ लाख रुपैयाँ थियो । अघिल्लो कारोबार दिनभन्दा यो दिन कुल बजार पूँजीकरण १२ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीले घटेको हो ।
यस दिन अन्य समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन बैंकिङको शून्य दशमलव १४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४२ प्रतिशत, वित्तको शून्य दशमलव १७ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ३६ प्रतिशत, जलविद्युतको शून्य दशमलव १७ प्रतिशत, लगानीको शून्य दशमलव ७० प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३ प्रतिशत लघुवित्तको शून्य दशमलव ३१ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३७ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५४ प्रतिशत र व्यापारिकको शून्य दशमलव ६६ प्रतिशत परिसूचक घटेको छ ।