काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले माघ ९ गते ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने र १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार ऋणपत्र भने सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
सर्वसाधारणलाई छुट्याइएको १ लाख २० हजार कित्तामध्येबाट ६ हजार कित्ता सामूहिक लगानी कोषहरूको लागि विक्री गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीलाई यो ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले पुस १६ गते अनुमति दिएको थियो ।
लगानीकर्ताहरूले यो ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्तादेखि अधिकतम १ लाख २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । यो ऋणपत्र छिटोमा माघ १३ गतेसम्म निष्कासनमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा माघ २३ गतेसम्म उक्त ऋणपत्रमा आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने गरी यो ऋणपत्र निष्कासन गर्न लागेको हो । यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।