काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक सामान्य अंक घटेको छ । यस दिन परिसूचक ३ दशमलव २४ अंक घटेर १ हजार ९६५ दशमलव ९३ विन्दुमा कायम भएको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. २ अर्ब ५३ करोड बराबरको कारोबार भएकोमा आज यो रकम रू. २ अर्ब ३६ करोडमा झरेको छ ।
बजारमा लगानीकर्ताको सक्रियता घटेको देखियो । आम लगानीकर्ताको मनोबल उच्च नभई अब बजारले गति लिन नसक्ने जानकार बताउँछन् । लामो समयदेखि घटेको बजारमा कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ भने ब्याजदर पनि घटिरहेको छ । यस्तो अवस्थामा पनि लगानीकर्ता सक्रिय हुन सकेका छैनन् । अब नियामक निकायले शेयर बजार सुधारका लागि नीतिगत रूपमा सुधार गर्नुपर्ने उनीहरू बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १० प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १२ प्रतिशत घटेको छ ।
कारोबारमा आएका ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता शेयर ४२ हजार १६ पटकमा रू. २ अर्ब ३६ करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये मल्टीपर्पस फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४२५ पुगेको छ । त्यस्तै पोखरा फाइनान्सको शेयर मूल्य ७ दशमलव ८९ प्रतिशत बढेर रू. ६१० पुगेको छ ।
बिहीवार सबैभन्दा बढी सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ०९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७२५ मा झरेको छ । त्यस्तै माई खोला हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ४५ प्रतिशत घटेर रू. ४४४ दशमलव ४० कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा पोखरा फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ११ करोड २६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यस्तै शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा मल्टीपर्पस फाइनान्सको रू. ९ करोड ४० लाख बराबरको भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव १३ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ७१ प्रतिशत घटेको छ ।