काठमाडौं । दशैंअघि आएको बाढीपहिरोले देशभरका सडकमा व्यापक क्षति पुर्याएपछि दशैंतिहारमा राजमार्गमा यात्रुले सास्ती भोग्नुपर्ने स्थिति बनेको छ ।
सडक विभागका अनुसार बिपी राजमार्ग, कान्ति राजपथ, मध्यपहाडी, अरनिको राजमार्गलगायत विभिन्न खण्ड दुईतर्फी नै अवरुद्ध छन् ।
बाढीपहिरोबाट पूर्ण रूपमा बगेका, भत्किएका सडक तथा पुलबाहेक अन्य अवरुद्ध सडकको पहिरो पन्छ्याउँदै यातायात सुचारु भए पनि यात्रा सहज बन्न नसक्ने देखिएको छ ।
काठमाडौंलाई पूर्व जोड्ने बिपी राजमार्ग अवरुद्ध रहेको सडक विभागका अधिकारी बताउँछन् । काठमाडौंलाई तराई र पश्चिम भेगसँग जोड्ने, ठूला
सवारीसाधन सञ्चालन हुने मुग्लिन–नारायणगढ सडकको अवरोध हटिसकेको विभागका उपमहानिर्देशक उमेशबिन्दु श्रेष्ठले जानकारी दिए ।
विभागको प्रवक्तासमेत रहेका श्रेष्ठले अहिले पहिरो पन्छाएर बाटो खुलाउनु र यातायात सञ्चालन सहज बनाउनु पहिलो प्राथमिकतामा रहेको बताए । ‘धेरैजसो अवरुद्ध सडक खुलिसकेका छन् । बिपी राजमार्ग पनि दशैंअघिसम्म खुलाउने योजना छ,’ श्रेष्ठले भने, ‘पूरै सडक बगाएको ठाउँमा सडक खुलाउन सकिन्छ/सकिँदैन यकीन भएन ।’
मुख्य लाइफलाइन नौबीसे–नागढुंगा सडक खुलिसकेको भन्दै उनले थपे, ‘गल्छी–त्रिशूली, धार्के खण्ड खुलिसकेको छ, बिपी राजमार्ग पुन:स्थापना अहिल्यै हुनै सक्दैन, रोशी खोलामा पानी कम भयो भने बगरतिरबाट अस्थायी रूपमा दशैंअघि खुलाउने योजना छ ।’ उनका अनुसार बिपी राजमार्गका विभिन्न खण्डमा कतै ५० मीटर कतै १०० मीटर गरेर करीब २ किलोमीटर सडक पूर्ण रूपमा भत्किएको छ ।
सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले दशैंअघि नै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन आएकाले बोर्ड आपतकालीन बजेट उपलब्ध गराउन तयार रहेको बताए । ‘केही दिनअघि नै खाल्डाखुल्डी तथा मर्मतसम्भारका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्ट्याइएको थियो,’ केसीले भने, ‘त्यसमा हाम्रो लक्ष्य भनेको सबै सडक मर्मतसम्भार नभए पनि शहरी इलाका र बढी यात्रुको आवतजावत हुने सडक बनाउने थियो ।
उनका अनुसार प्राकृतिक विपद्बाट क्षति भएका सडक मर्मतसम्भार बोर्डले हेर्न नपरे पनि बोर्डसँग आपतकालीन बजेट हुन्छ । ‘यो शीर्षकमा रहेको बजेट विपद्को समयमा प्रयोग गर्न सकिने भएकाले माग भएमा २० अर्ब ३० करोड रुपैयाँ दिन सक्ने अवस्थामा हामी हुन्छौं,’ उनले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराले क्षतिग्रस्त सडक र पुल पुन:स्थापना गर्न २ अर्ब ५२ करोड रुपैयाँ लाग्ने जानकारी दिएको छ ।