काठमाडौं । गत बुधवारयता बढ्न थालेको नेप्से परिसूचक आज ४९.१२ अंकले वृद्धि भएको छ । यससँगै नेप्से परिसूचक २ हजार ६४० दशमलव ६८ विन्दुमा पुगेको हो ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । आज ३१२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रू. ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको छ । गत आइतवार रू. ४ अर्ब ८६ करोड बराबरको कारोबार भएको थियो।
नेप्सेका अनुसार आज २२६ ओटा कम्पनीको शेयर मूल्य बढ्दा १२ ओटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, चार ओटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ७० प्रतिशत, साहास उर्जा लिमिटेडको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।