काठमाडौं । धितोपत्र दोस्रो बजारमा साउन महिनामा मात्र ३९ करोड ६३ लाख ९४ हजार २०२ दशमलव ६२ कित्ता धितोपत्र सूचीकृत भएको छ । विभिन्न २३ कम्पनीहरूको उल्लेखित कित्ता धितोपत्र साउनमा सूचीकृत भएको हो ।
चालू आर्थिक वर्षको पहिलो महिना धितोपत्र दोस्रो बजारमा प्राथमिक बजारमा निष्कासनमा आएका धितोपत्रहरू बढी सूचीकृत भएका छन् । साउन महिनामा १० कम्पनीहरूको बोनस शेयर पाँच कम्पनीहरूको आईपीओ, एक कम्पनीको हकप्रद शेयर, तीन किसिमका विकास ऋणपत्र, दुई बैंकको ऋणपत्र र दुई म्युचुअल फण्डको इकाई सूचीकृत भएको हो ।
आईपीओ सूचीकृत गर्ने पाँच कम्पनीहरूमा बिन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपाव, मन्दाकिनी हाइड्रोपावर, श्वेत-गंगा हाइड्रोपावर रहेका छन् । यो महिना प्राइम बैंक र सिद्धार्थ बैंकको ऋणपत्र पनि धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । नेपाल बैंकले विक्री गरेको ७० प्रतिशत हकप्रद शेयर समेत साउन महिनामै सूचीकृत भई कारोबारयोग्य भएको हो ।
घट्दो बजारमा आईपीओले मूल्य पाउन सकेन
पछिल्लो समय धितोपत्र दोस्रो बजार घटिरहेको अवस्थामा आईपीओले भने अनुसारको मूल्य पाउन नसकेको गुनासो लगानीकर्ताहरूको छ । नेप्सेले आईपीओ जारी गरेका कम्पनीहरूको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि तोक्ने गर्दछ । बढ्दो बजारमा कारोबारको पहिलो दिनदेखिनै आईपीओ खरीदका लागि उच्च माग देखिने गरेको स्मरण गर्दै लगानीकर्ता डम्बरु बल्लब घिमिरेले घट्दो बजारको कारण आईपीओमा पनि खरीद माग कम हुँदा बजारमूल्य सोचे अनुसार नभएको बताए । धितोपत्र बजारमा नयाँ कम्पनीहरू थपिने क्रम जारी रहदा बजारमा माग सिर्जना हुने वातावरण पनि बन्नुपर्ने भनाई उनको छ । माग र आपुर्तिका कारण मूल्यमा पर्ने असरलाई ध्यानमा राखी आगामी दिनमा कम्पनीहरूको आईपीओ आउनुपर्ने माग समेत उनको छ । दोस्रो बजार घट्दा प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका शेयर खरीदमा पनि असर पर्ने बुझाई अर्का लगानीकर्ता इन्द्र कृण्ण श्रेष्ठको छ । अहिले दोस्रो बजार घट्दा आईपीओले मूल्य पाउन नसकेको अवस्थालेनै प्राथमिक बजारमा आईपीओ खरीदका लागि पर्ने आवेदनमा समेत कमि हुदैं आएको अनुमान श्रेष्ठको छ ।