काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पाँच महीनामा ६ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पाँच महीनाको आर्थिक तथा वित्तीय स्थिति झल्काउने तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा भने यस्तो आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह २.५ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेको छ । यो आवको साउन–मंसिरमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम
स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ३८४ छ । गत आवको सोही अवधिमा यस्तो संख्या १ लाख ७१ हजार ९७५ थियो ।
यो आवको ५ महीनामा पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ छ । गत आवको सोही अवधिमा यस्तो संख्या १ लाख २ हजार ५४२ थियो ।