काठमाडौं । सरकारले आगामी ११ वर्ष (सन् २०३५ सम्म)मा प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट पुर्याउने लक्ष्य लिएको छ ।
सरकारले सार्वजनिक गरेको ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ मा उक्त लक्ष्य निर्धारण गरेको हो । यो लक्ष्य अहिलेको खपतको तुलनामा करीब तेब्बर (११०० युनिट)ले बढी हो । हाल (सन् २०२४ मा) यस्तो खपत ४०० युनिट रहेको छ ।
यसआधारमा उक्त लक्ष्य पूरा हुनेमा आशंका देखिएको छ । सम्बन्धित सरकारी अधिकारी भने उक्त लक्ष्य पूरा हुने दाबी गर्छन् ।
‘नेपालको दिगो विकास लक्ष्यको अवस्था र मार्गचित्र (सन् २०१६–२०३०)’ प्रतिवेदनमा भने सन् २०३० सम्म वार्षिक प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट हासिल गर्ने लक्ष्य उल्लेख गरिएको छ ।
जल तथा ऊर्जा आयोगको ‘इलेक्ट्रिसिटी डिमान्ड फोरकास्ट रिपोर्ट, २०१५–२०४०’ प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादनमा ७.२ प्रतिशत वार्षिक वृद्धिदर लिई प्रक्षेपण गर्दा सन् २०३५ (आर्थिक वर्ष २०९१/९२)मा हुन आउने कुल आन्तरिक विद्युत माग ४० हजार ७१० गिगावाट घन्टा आधार लिई सन् २०३५ सम्ममा प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट हासिल गर्ने उद्देश्यसहित यो मार्गचित्र तयार गरिएको मार्गचित्रमा उल्लेख छ ।