माघ ३, काठमाडौं । गत साता शेयर बजार परिसूचक नेप्से ८ दशमलव ५६ अङ्क बढेको छ । व्यापारको ४ दिनमा पहिलो २ दिन थोरै अङ्क घटेको परिसूचक पछिल्लो २ दिन भने बढेको थियो । संविधान जारी हुने मिति नजिकिँदै गर्दा समग्र शेयर बजार पनि विस्तारै बढिरहेको छ । विभिन्न राजनीतिक दलले आमहडताल तथा बन्दको आह्वान गरेका कारण साताको पहिलो २ दिन बजार पनि प्रभावित भएको हुन सक्ने ब्रोकरहरू बताउँछन् । तर, दलहरूले बन्द तथा हडतालको कार्यक्रम फिर्ता गर्नु तथा राजनीतिक दलहरूबीच सहमतिको विकल्प नदेखिनुले लगानीकर्ताको आत्मबल बढेको छ । फलस्वरूप पछिल्लो २ दिन परिसूचक बढेर बजार बन्द भएको छ । अघिल्लो साताको अन्तिम दिन ९ सय ३० दशमलव ९७ बिन्दुमा रहेको नेप्से परिसूचक गत साता बढेर ९ सय ३९ दशमलव ५३ बिन्दुमा उक्लिएको छ ।
गत साता व्यापारमा आएका समूहमध्ये अधिकांश समूहको परिसूचक बढेको छ । तर, बैङ्किङ, जलविद्युत् तथा होटल समूहको परिसूचक भने घटेको छ । बढेको समूहमध्ये बीमा समूहको परिसूचक सबैभन्दा धेरै १ सय २१ दशमलव १८ अङ्क बढेको छ । त्यस्तै, वित्त कम्पनी समूहको परिसूचक २४ दशमलव ९९ अङ्क बढ्यो भने ‘अन्य’ कम्पनीको समूहको परिसूचक १५ दशमलव २७ अङ्क बढेको छ । विकास बैङ्क समूहको परिसूचक भने १२ दशमलव ९९ अङ्क बढेको छ ।
गत साता ८ हजार ३ सय ६५ व्यापारबाट १ सय ६२ कम्पनीको २५ लाख ५८ हजार १ सय ४० कित्ता शेयरको खरीदविक्री भयो, जसबाट ९८ करोड ६३ लाख ३२ हजारबराबरको रकम परिचालन भयो । यो रकम अघिल्लो साताको तुलनामा ३१ दशमलव ३९ प्रतिशत कम हो । सो साता व्यापार रकमको आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । सो कम्पनीको रू. ८ करोड ६७ लाख ५० हजारबराबरको व्यापार भएको थियो । त्यस्तै, व्यापार भएको शेयर सङ्ख्याको आधारमा प्रभु बैङ्क सबैभन्दा अगाडि छ । सो बैङ्कको २ लाख २८ हजार कित्ता शेयरको खरीदविक्री भयो । त्यस्तै, ७ सय ११ ओटा कारोबार गरी सेञ्चुरी कमर्शियल बैङ्क सबैभन्दा धेरै व्यापार गर्ने कम्पनीमा परेकोे छ ।
बैङ्किङ समूह
गत साता बैङ्किङ समूहको परिसूचक ३ दशमलव शून्य ९ अङ्क घटेको छ । अघिल्लो साताको अन्तिम दिन ८ सय १९ दशमलव ८३ बिन्दुमा रहेको सो समूहको परिसूचक गत साताको अन्तिम दिन ८ सय १६ दशमलव ७४ बिन्दुमा झरेको छ । दैनिक औसतमा भने परिसूचक शून्य दशमलव ७७ अङ्क घटेको छ । सो समूहको ९० दिनको रेखाचित्रले भने अन्तिममा ‘डबल टप’को आकृति निर्माण गरेको छ । यसले आगामी दिन परिसूचक घट्ने सक्ने अनुमान गर्न सकिन्छ ।
विकास बैङ्क समूह
गत साता विकास बैङ्क समूहको परिसूचक १२ दशमलव ९९ अङ्क बढेको छ । अघिल्लो साताको अन्तिम दिन ७ सय २१ दशमलव शून्य ८ बिन्दुमा रहेको सो समूहको परिसूचक गत साताको अन्तिम दिन ७ सय ३४ दशमलव शून्य ७ बिन्दुमा उक्लेको छ । सो समूहको ९० दिनको रेखाचित्रले गत साता पनि बुलिश टे«ण्ड देखाएको छ । यसले आगामी दिन पनि परिसूचक बढ्ने सङ्केत गर्छ, भने निरन्तर रूपमा परिसूचक बढिरहेकाले आगामी दिन केही करेक्शन हुने अनुमान गर्न सकिन्छ ।
बीमा समूह
गत साता बीमा समूहको परिसूचक १ सय २१ दशमलव १८ अङ्क बढेको छ । अघिल्लो साताको अन्तिम दिन ४ हजार १८ दशमलव ३ बिन्दुमा रहेको सो समूहको परिसूचक गत साताको अन्तिम दिन ४ हजार १ सय ३९ दशमलव ४८ बिन्दुमा पुगेको छ । दैनिक औसतमा भने परिसूचक ३० दशमलव २९ अङ्क बढेको छ । सो समूहको रेखाचित्रले बुलिश टे«ण्ड बनाएको छ । यसले परिसूचक बढ्दो क्रममा रहेको देखाउँछ । अहिलेको बिन्दुबाट पनि परिसूचक उकालो लागेमा ४ हजार १ सय ८७ मा पहिलो प्रतिरोधको सामना गर्नुपर्नेछ ।
जलविद्युत् समूह
गत साता जलविद्युत् समूहको परिसूचक ८ दशमलव ५९ अङ्क घटेको छ । अघिल्लो साताको अन्तिम दिन २ हजार २ सय ९४ दशमलव ९४ बिन्दुमा रहेको सो समुहको परिसूचक गत साताको अन्तिम दिन घटेर २ हजार २ सय ८६ दशमलव ३५ बिन्दुमा झरेको छ । दैनिक औसतमा भने परिसूचक २ दशलव २५ अङ्क घटेको छ । समूहको रेखाचित्रले केही दिनअगाडि बनाएको डबल बटम आकृतिपछि परिसूचक बढ्न पुगेको थियो । तर, २ हजार ३ सयको प्रतिरोध भने परिसूचकले तोड्न सकेन । त्यसपछाडि फर्किएको परिसूचक २ हजार २ सय ८६ बिन्दुमा रोकिएको छ । अहिलेको बिन्दुबाट पनि परिसूचक उकालो लागेमा २ हजार ४ सय २१ मा अर्को प्रतिरोधको सामना गर्नुपर्ने देखिन्छ भने ओरालो लागेमा २ हजार २ सय ४६ मा पहिलो टेवा पाउन सक्नेछ ।
वित्त कम्पनी समूह
गत साता वित्त कम्पनी समूहको परिसूचक २४ दशमलव ९९ अङ्क बढेको छ । अघिल्लो साताको अन्तिम दिन ४ सय ८० दशमलव ८३ बिन्दुमा रहेको सो समूहको परिसूचक गत साताको अन्तिम दिन भने ५ सय ५ दशमलव ८२ बिन्दुमा पुगेको छ । दैनिक औसतमा भने परिसूचक ६ दशमलव २४ अङ्क बढेको छ । सो समूहको परिसूचक निरन्तर रूपमा बढेको रेखाचित्रले देखाएको छ । अहिलेको बिन्दुबाट पनि परिसूचक उकालो लागेमा ५ सय १९ मा पहिलो प्रतिरोधको सामना गर्नुपर्नेछ ।
अन्य समूह
गत साता ‘अन्य’ समूहको परिसूचक १५ दशमलव २७ अङ्क बढेको छ । अघिल्लो साताको अन्तिम दिन ७ सय १९ बिन्दुमा सो समूहको परिसूचक गत साताको अन्तिम दिन ७ सय ३४ दशमलव २७ बिन्दुमा उक्लेको छ । दैनिक औसतमा भने परिसूचक ३ दशमलव ८१ अङ्क बढेको छ । सो समूहको रेखाचित्रले ‘डबल बटम’को आकृति निर्माण गरेको छ । प्राविधिक विश्लेषणअनुसार यस्तो आकृति देखापरेपछि परिसूचक बढ्ने गर्छ ।
होटल समूह
गत साता होटल समूहको परिसूचक शून्य दशमलव ९७ अङ्क घटेको छ । अघिल्लो साताको अन्तिम दिन २ हजार ७७ दशमलव ८ बिन्दुमा रहेको सो समूहको परिसूचक गत साताको अन्तिम दिन २ हजार ७६ दशमलव ८३ बिन्दुमा सीमित भएको छ । दैनिक औसतमा भने परिसूचक शून्य दशमलव २४ अङ्क घटेको छ । केही दिनअघि सो समूहको परिसूचकले डबल बटम आकृति निर्माण गरेको थियो । त्यसपछि परिसूचक निरन्तर रूपमा बढेको हो । अहिले भने परिसूचकले ‘डबल बटम’ आकृति निर्माण गरेको छ । त्यसैले, आगामी दिन परिसूचक घट्ने अनुमान गर्न सकिन्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.