एप्पल प्रयोगकर्तामाझ विशेष लोकप्रिय रहन सफल सफ्टवेयर ‘सिरी’ एक पर्सनल एसिष्टेण्ट (व्यक्तिगत सहायक) एप हो । तर, लोकप्रिय हुँदाहुँदै पनि यसको क्षमता पर्याप्त नभएको गुनासो समयसमयमा सुनिन्छ । यसै गुनासोलाई सम्बोधन गर्ने सोचका साथ एप्पलले सिरीको सामान्य ज्ञानमा उल्लेख्य वृद्धि गरेको छ । सामान्य ज्ञानमा गरिएको उक्त वृद्धिसँगै यसले एप्पलका प्रयोगकर्ता तथा सिरी चलाउन मन पराउनेहरूमाझ यसलाई थप लोकप्रिय बनाउन सघाउने कम्पनीको विश्वास छ । ‘वायर्ड’ नामक एक प्रविधिसँग सम्बन्धित समाचार दिने वेबसाइटका अनुसार मानिसको दिमागले झैं बोलिएका शब्दको सही पहिचान गर्ने क्षमता सिरीमा विकास गर्न कम्पनी अहिले लागिपरेको छ ।
यस्तै, प्रविधिको प्रयोग माइक्रोसफ्टले यसअघि नै स्काइपमा गरिसकेको छ । स्काइपमा रमाइरहेका मानिसले एकअर्कासँग संवाद गर्न प्रयोग गरिने भाषालाई आवश्यकताअनुसार अन्य भाषामा परिमार्जन गर्न यो प्रविधि विशेष सफल मानिएको छ । यस प्रविधिका कारण माइक्रोसफ्टले सही शब्द पहिचान गर्ने क्षमतामा २५ प्रतिशत वृद्धि हासिल गरेको वायर्डले उल्लेख गरेको छ । यो प्रविधिलाई न्युरल नेटवर्क प्रविधि भनिन्छ । यसको व्यापक प्रयोग गर्ने अन्य कम्पनीहरूमा गूगल र आईबीएम हुन् । यस कार्यका लागि माइक्रोसफ्टले एलेक्स एसेरोलाई आफ्नो समूहमा आबद्ध गरेको छ । एसेरोले माइक्रोसफ्टमा करीब २० वर्षसम्म स्पीच टेक्नोलोजी अर्थात् भाषा प्रविधिसम्बन्धी कार्य गरेका छन् । उक्त समूहमा युनिभर्सिटी अफ एडिनवर्ग तथा नुआन्सका अनुसन्धानकर्ता गनर एभरम्यानलाई पनि समावेश गरिएको बताइएको छ ।
विकसित सिरीले आईफोन सिक्सलाई थप आकर्षक र लोकप्रिय बनाउने कम्पनीको विश्वास छ । साथै, निकट भविष्यमा सार्वजनिक गर्न लागिएको आईवाचमा समेत यो प्रविधि अपनाइने अनुमान विशेषज्ञहरूले गरेका छन् । यो प्रविधिले भविष्यमा आउने स्मार्टफोनलगायत अन्य स्मार्ट उपकरणलाई आवाजको भरमा खोज्न सजिलो हुने पनि बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.