सुरक्षाका दृष्टिकोणले उपयुक्त वेबसाइटलाई विशेष प्राथमिकता दिने गूगलले घोषणा गरेको छ । लामो समयदेखि गूगलले खोज नतीजा (सर्च रिजल्ट)मा एचटीटीपी (हाइपर टेक्ष्ट ट्रान्सफर प्रोटोकल)सहितका पेजबारे अध्ययन गरिरहेको थियो, जसअनुसार अब यसलाई लागू गर्न आवश्यक कदम चाल्ने घोषणा गूगलले गरेको हो । यससँगै गूगलले अध्ययनको नतीजा सकारात्मक रहेको र अब उपरान्त एचटीटीपी इन्क्रिप्शनसहितका पेजलाई बढी मान्यता दिने जानकारी दिएको छ । गूगललको यस नतीजाले वेबसाइटहरू इन्क्रिप्शनका लागि प्रेरित हुने देखिएको छ । तर, यसरी इन्क्रिप्शन लागू गर्दा वेबसाइटको कार्यभार तथा खर्च बढ्ने निश्चित छ । इन्क्रिप्शनको सहायताले पेज थप सुरक्षित हुने निश्चित छ, तर यसका कारण पेज खुल्न लाग्ने समयमा भने वृद्धि हुनेछ ।
खर्च र गति
‘पहिले खर्च बढी लाग्ने तथा आफ्नो वेबसाइटाको गतिसमेत कम हुने डरका कारण संस्थाहरू इन्क्रिप्शनमा जान चाहँदैन थिए,’ डेटा सुरक्षा कन्सल्टेन्सी सेफ्नेटका जेशन हार्ट भन्छन्, ‘तर, अब भने तीव्रगतिका इन्क्रिप्शन प्रविधि उपलब्ध छन् । यसकारण यो थप लोकप्रिय बन्नेछ ।’ गूगलका अनुसार तत्काल १ प्रतिशतभन्दा कम खोज नतीजामा यसको प्रभाव देखिनेछ । ‘निकट भविष्यमा हामी सबै वेबसाइटलाई एचटीटीपी वा एचटीटीपीएस इन्क्रिप्शनका लागि प्रेरित गर्नेछौं,’ गूगलले आफ्नो ब्लगमा लेखेको छ, ‘हामी चाहन्छौं कि, सबै प्रयोगकर्ता इण्टरनेटमा सुरक्षित अनुभव गर्न पाऊन् ।’ जीमेलले सन् २०११ मा एचटीटीपीएस लागू गरेको थियो । त्यसैगरी सन् २०१३ जुलाईमा फेसबूक र सन् २०१४ को मार्चमा याहूले पनि आफ्ना वेबसाइटमा इन्क्रिप्शनको प्रयोग थालेका थिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.