ट्वीटरले आफ्ना प्रयोगकर्ताको वालमा परिवर्तन ल्याउने तयारी गरेको छ । यो परिवर्तन भएपश्चात् फलो नगरेका ट्वीट पनि प्रयोगकर्ताको टाइमलाइनमा देखिनेछन् । यसले प्रयोगकर्ताको वाल थप व्यस्त हुने निश्चित छ । अहिलेसम्म टाइमलाइनमा प्रयोगकर्ताले फलो गरेका अकाउण्टको ट्वीट वा उनीहरूले रिट्वीट गरेका सामग्री मात्र देखिन्थे । तर, अब भने अनावश्यक तथा अनपेक्षित ट्वीट पनि प्रयोगकर्ताको वालमा देखापर्ने भएकाले यसले तिनलाई हैरानी हुने देखिन्छ ।
ट्वीटरले ‘टाइमलाइन’को परिभाषा बदल्ने प्रयास गरिरहेको छ । त्यही प्रयासअन्तर्गत अब टाइमलाइनमा फलो नगरिएका एकाउण्टको ट्वीट पनि देखिने कम्पनी भनाइ छ । धेरैले पढेका वा रुचाएका ट्वीटमध्ये प्रयोगकर्तालाई उपयोगी हुने सम्भावित ट्वीट ट्वीटरले आफै छनोट गरी टाइमलाइनमा प्रस्तुत गर्ने बताइएको छ । प्रयोगकर्ताको नेटवर्कमा यी ट्वीट कति लोकप्रिय छन् र त्यसमाथि कति अन्तरक्रिया भइरहेको छ भन्ने आधारमा यस्ता ट्वीट छानिन्छन् । कसैको ट्वीटलाई तपाईंले ‘फेभरेट’ गर्नुभयो भने पनि तपाईंको टाइमलाइनमा त्यसलाई देखाइनेछ ।
यसअघि नै ट्वीटरले विज्ञापन र रिट्वीटलाई प्रयोगकर्ताको टाइमलाइनमा आफै देखाउन शुरू गरिसकेको छ । ट्वीटर हेल्प सेग्मेण्टमा उल्लेख गरिए अनुसार कुनै एकाउण्ट, ट्वीट वा अन्य लोकप्रिय डकुमेण्ट फलो गर्नुपर्ने खालको भएमा त्यसलाई टाइमलाइनमा देखाइनेछ । साथै, ट्वीट कति लोकप्रिय छ र प्रयोगकर्ताको सञ्जालमा कति अन्तरक्रिया भएको छ भन्ने आधारमा समेत तिनको छनोट गरिने त्यसमा उल्लेख छ । ‘हाम्रो उद्देश्य तपार्इंको टाइमलाइनलाई बढी सान्दर्भिक र रुचिपूर्ण बनाउनु हो,’ ट्वीटरले भनेको छ ।
ट्वीटरले आफ्ना प्रयोगकर्ताको एकाउण्ट सान्दर्भिक र रुचिपूर्ण बनाउन यसो गर्न लागेको उल्लेख गरे तापनि अहिले धेरै प्रयोगकर्ताले यसप्रति आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यसको मुख्य कारण फेभरेट अप्शनलाई रिट्वीट जसरी व्याख्या गर्नु हो ।
अहिलेसम्म फेभराइटको काम के हो भन्ने प्रस्ट छैन । कसैले यसलाई सामान्यतया हेलो भन्न प्रयोग गरेका हुन्छन् त, कसैले बूकमार्कका रूपमा । त्यस्तै, कसैले समर्थन तथा एक्यबद्धता व्यक्त गर्न प्रयोग गरिरहेको पाइन्छ । तर, ट्वीटरले अब फेभराइटलाई पनि रिट्वीटजस्तै व्यवहार गर्ने भएको छ । यो परिवर्तनसँगै ट्वीटर पनि फेसबूकको बाटोमा अघि बढिरहेको अनुमान गर्न थालिएको छ । त्यसैले, फेसबूक प्रयोगकर्ताले झैं अब ट्वीटरका प्रयोगकर्ता पनि आफ्नो टाइमलाइनमा नचाहेका पोष्ट हेर्न बाध्य हुनुपर्ने भएको छ । ट्वीटरले पछिल्ला बर्षहरूमा नयाँ प्रयोगकर्ताको आकर्Èण तथा आफ्नो नाफा बढाउन नसक्नु यसको कारण भएको विश्लेषण गर्न थालिएको छ । यसकारण बढीभन्दा बढी ब्राण्डलाई आकर्षित गरी विज्ञापन बजार बढाउने उद्देश्यले यस्तो परिवर्तन ल्याउन खोजिएको धेरैको अनुमान छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.