सफ्टवेयर जायण्ट अमेरिकी बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्ट कर्पाेरेशनको ‘एमएसएन मेसेञ्जर’ अथवा विण्डोज लाइभ मेसेञ्जर आगामी अक्टोबर ३१ बाट बिदा हुने भएको छ । यससँगै विगत १५ वर्षदखि प्रयोगकर्तामाझ रहेको एमएसएन मेसेञ्जर सदाका लागि बिदा हुनेछ । एक समय एमएसएन पनि प्रयोगकर्ताले निकै रुचाएको सफ्टवेयर रहेको थियो । एमएसएन मेसेञ्जरको निर्माता माइक्रोसफ्टले यसका प्रयोगकर्तालाई स्काइपमा परिवर्तन गर्ने घोषणा गतवर्ष नै गरे पनि एमएसएनको सेवा चीनका प्रयोगकर्तामाझ भने चालू नै राखेको थियो । तर, अब चिनियाँ प्रयोगकर्ताले पनि स्काइप नै प्रयोग गर्नुपर्ने भएको छ ।
एमएसएन मेसेञ्जरले सन् १९९९ बाट आफ्नो च्याटसेवा शुरू गरेको थियो । त्यस समयमा एमएसएन मेसेञ्जर र अमेरिकाकै अर्को आमसञ्चार कम्पनी ‘एओएल’ले निर्माण गरेको एआईएम सेवाले उस्तै खालको च्याटसेवा उपलब्ध गराउँथे । तर, केही समयपछि नै माइक्रोसफ्टले एमएसएनमा थुप्रै विशेषता थपेर एआईएमलाई पछि पारेको थियो । एमएसएनमा च्याट तथा साथीलाई जिस्काउने अनि साथीलाई ठूलो एनिमेटेड इमोटिकन्स (भावअनुसारका एनिमेटेड चित्र) पठाउने सुविधा थिए ।
माइक्रोसफ्टले एमएसएन मेसेञ्जरको अनावरण ठूलो हरियो मस्कटसहित धुमधामसँग गरेको थियो । तर, १५ वर्ष प्रयोगकर्तामाझ रहेको मेसेञ्जर अहिले भने सदाका लागि बिदा हुन लागेको छ ।