सिन्धुपाल्चोक । साउन १७ गते आयो कि बलेफी गाउँपालिका–८ का पञ्चलाल तामाङ ८ वर्षअघिको भयावह दृश्य सम्झन्छन् । ‘राति ठूलै आवाजसहित पहिरो झर्यो, हामी भाग्यौं,’ उनले ती दिन सम्झँदै भने, ‘तर घरबारी, अन्नपात, गाईवस्तु केही बचाउन सकिएन ।’
८ वर्षअघि साउन १७ गते सिन्धुपाल्चोकको तत्कालीन माँखा र राम्चे गाउँ विकास समितिको बीच भागमा पर्ने जुरेमा माथिको पहाड खस्दा सिंगो बस्ती नै पुरियो । पहिरोमा परी १४५ जनाको ज्यान गएको थियो । सयौं मानिस घरबारविहीन भए । पहिरोपीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् । पहिरोपीडितका लागि सर्वसाधारण र देश–विदेशबाट दाताले दिएको २ करोड २४ लाख रुपैयाँ राहत ८ वर्षसम्म सरकारी खातामै अड्कियो ।
तर, एक महीनाअघि उक्त रकम वितरणका लागि मन्त्रिपरिषद् बैठकले फुकुवा गरिदिएको छ । रकम फुकुवा भएपछि त्यसको वितरणका लागि छलफल शुरू भएको छ । ‘पीडितको नाममा रहेको रकम कसरी पारदर्शी र समावेशी तवरले वितरण गर्न सकिन्छ भनेर सरोकारवालाहरूसँग छलफल गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले भने, ‘दशैंअघि नै पीडितलाई वितरण गर्ने योजना छ ।’
पहिरोपीडितको नाममा प्राप्त रकम फुकुवा भएसँगै आफूहरूमा आशा थपिएको स्थानीय चमेली तामाङ बताउँछिन् । ‘रकम फुकुवा भयो भन्छन्, त्यो रकम दिए सानोतिनो एउटा घर बनाउन सकिन्थ्यो कि,’ उनले भनिन्, ‘अहिलेसम्म अस्थायी टहरोमै कष्टका साथ बसेका छौं ।’
अहिले मन्त्रिपरिषद्ले नै निर्णय गरी रकम फुकुवा गरे पनि जिल्ला दैवी प्रकोप उद्धार समितिले भने रकम वितरणमा चासो नदेखाएको पीडितहरूको गुनासो छ ।
पहिरोपीडित एवं बलेफी गाउँपालिका–८ का अध्यक्ष रमेशकुमार श्रेष्ठले सो पहिरोमा कुनै पनि क्षति नभएकाहरू पीडितमा समावेश भएको देखिएकाले त्यसबारे छानबिन गर्नुपर्ने बताए । ‘वास्तविक पीडित नछुटून् र गैरपीडित लाभग्राहीमा समावेश नहोऊन् भन्ने उद्देश्यले पुनः छानबिन र क्षतिको मूल्यांकन हुनुपर्छ,’ उनले भने । सो पहिरोमा वडाध्यक्ष श्रेष्ठकी श्रीमती, छोरीसहित परिवारका ६ जनाको निधन भएको थियो । पहिरोबाट प्रभावितहरूलाई क्षतिपूर्तिका लागि जनस्तरबाट संकलित सहयोग रकमलाई राहत स्वरूप वास्तविक पीडितहरूलाई न्यायिक तवरले वितरण एवं पुनर्वासका लागि व्यवस्थापन गर्न तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार गरेको ‘जुरे सुनकोशी पहिरो पीडित राहत वितरण मापदण्ड २०७१’ले पीडितहरूलाई ६ वर्गमा वर्गीकरण गरेको थियो ।
तत्कालीन जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत गोकुल बस्नेतको संयोजकत्वमा नापी कार्यालयका प्रमुख शरदचन्द्र मैनाली प्रमुख, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष युवराज पुरी, गैसस महासंघका प्रतिनिधि सोम सापकोटा, जिविस सदस्य मुरारी तिवारी र पहिरो पीडित प्रतिनिधि कृष्ण लामा सदस्यका साथै जिविस सिन्धुपाल्चोकका राजेन्द्रप्रसाद प्याकुरेल सदस्य सचिव रहेको समिति निर्माण गरिएको थियो । समितिले अन्तरक्रिया तथा सुझाव संकलन गरी जिल्ला दैवी प्रकोप उद्धार समितिले तर्जुमा गरेको मापदण्डमा भएका सूचकहरूमाथि छलफल तथा विश्लेषण मापदण्ड बमोजिम पीडितहरूको सूचना संकलन गरेको थियो ।
समितिले जिल्ला दैवी प्रकोप उद्धार समितिले तर्जुमा गरेको पीडित पुनवर्गीकरण मापदण्ड अनुसार सिन्धुपाल्चोकका माँखा र राम्चे गाविसको बीच भाग जुरे सुनकोशी पहिरोको कारण राम्चे, माँखा, टेकानपुर र धुस्कुनका प्रत्यक्ष पीडित परिवारहरूको मात्र सूचना संकलन गरेको थियो ।
प्रतिवदेन अनुसार क वर्गमा १३, ख वर्गमा ४१, ग वर्गमा ४३, घ वर्गमा ५८, ङ वर्गमा ६४ र च वर्गमा ६१ गरी कुल २ सय ८० परिवार प्रभावित भएको उल्लेख थियो । समितिले मापदण्ड बमोजिम पुनः वर्गीकरण गरिएका पीडितहरूको प्राप्त अंकभार बमोजिम प्राथमिकता क्रम अनुसार वितरण गर्नपूर्व मृतक तथा बेपत्ता व्यक्तिका आश्रितहरूलाई प्रतिमृतक बेपत्ता संख्याको आधारमा निश्चित रकम विनियोजन गरेर मात्र बाँकी रकम वितरण गर्न सुझाव दिएको थियो ।
समितिको सुझाव अनुसार नै रकम वितरण गर्नेतर्फ छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताए । ‘