काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेकामध्ये आधा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । यसले गर्दा ती बैंकले आर्थिक वर्षको समाप्तिपछि शेयरधनीलाई लाभांश वितरण गर्न सक्नेमा आशंका बढेको छ ।
बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकमध्ये १० ओटाको वितरणयोग्य नाफा ऋणात्मक छ । हिमालयन, नेपाल इन्भेष्टमेण्ट मेगा, कुमारी, एन आई सी एशिया, लक्ष्मी सन्राइज, नेपाल, एनएमबि, ग्लोबल आइएमई, माछापुच्छ्रे र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।
बैंकिङ क्षेत्रका ज्ञाता भुवन दाहालका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरूले पाकिसकेको ब्याज ऋणीबाट उठाउन नसक्दा त्यसलाई नाफा देखाउन पाएका छैनन् । ‘यसरी नउठेको ब्याज बराबरको रकम नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘रेगुलेटरी एडजस्टमेन्ट’ गर्नुपर्ने भएकाले वितरणयोग्य नाफामा देखाउन पाइँदैन,’ उनले भने ।
राष्ट्र बैंकका अनुसार रेगुलेटरी एडजस्टमेन्टअन्तर्गत पाकेर नउठेको ब्याज, गैरबैंकिङ सम्पत्तिका आधारमा गर्नुपर्ने प्रोभिजनिङ, लगानीमा हुने सम्भावित घाटाको आधारमा राख्नुपर्ने प्रोभिजनिङ आदि पर्छन् ।
देशको अर्थतन्त्रमा आएको शिथिलतासँगै बैंकहरूले कर्जा असुलीमा समस्या बेहोर्नुपरेको छ । यसले गर्दा खराब कर्जा बढ्दै गएको राष्ट्र बैंकले बताएको छ । फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा कुल कर्जाको ३ दशमलव ६३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
‘यो परिस्थितिमा बैंकहरूको अवस्था सुधार्न अर्थतन्त्रलाई बढी चलायमान बनाउनुबाहेक अन्य विकल्प छैन,’ दाहालले भने, ‘आगामी ३ महीनामा बैंकहरूले प्रभावकारी रूपमा ब्याज असुली गर्न सकेमात्र लगानीकर्ता निराश हुनुपर्ने छैन ।’
आवको अन्त्यसम्मको वितरणयोग्य मुनाफाको आधारमा बैंकहरूको लाभांश वितरण क्षमता आकलन हुने भएकाले अहिलेको अवस्थालाई आगामी त्रैमाससम्म सुधार्न बैंकहरूलाई प्रमुख चुनौती देखिन्छ ।
गत आव नाफा कमाएको हिसाबमा चालू आव २०८०/८१ मा २० मध्ये १२ ओटा बैंकले मात्र लाभांश वितरण गरेका छन् । हिमालयन, एनएमबि, प्राइम कमर्सियल, कुमारी, नेपाल, नेपाल इन्भेष्टमेण्ट, प्रभु र कृषि विकास बैंकले यस वर्ष लगानीकर्तालाई प्रतिफल दिएका छैनन् ।
यस वर्ष लगानीकर्ताको हात खाली बनाउनेमध्ये प्रभु, कृषि विकास र प्राइम कमर्सियल बैंक भने वितरणयोग्य नाफामै छन् । हिमालयन, एनएमबि, नेपाल, कुमारी र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आगामी ३ महीनामा ब्याज असुली गरी वितरणयोग्य नाफामा सुधार नल्याए आगामी वर्ष पनि यी बैंकका लगानीकर्ता निराश हुनुपर्ने देखिन्छ ।
तेस्रो त्रैमाससम्म हिमालयन बैंकको वितरणयोग्य नाफा ५ अर्ब २४ करोड रुपैयाँभन्दा धेरैले ऋणात्मक छ । यो सबैको भन्दा बढी हो । दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँभन्दा धेरैले ऋणात्मक छ । सबैभन्दा कम वितरणयोग्य नाफा ऋणात्मक हुनेमा सिद्धार्थ बैंक रहेको छ । यसको वितरणयोग्य नाफा २७ करोड १२ लाख रुपैयाँभन्दा बढीले ऋणात्मक छ ।
वितरणयोग्य नाफा भएका १० वाणिज्य बैंकमा एभरेष्ट बैंक सबैभन्दा अगाडि छ । ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेको एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँभन्दा माथि छ । तेस्रो त्रैमाससम्म एभरेष्टको लाभांश क्षमता २३ दशमलव ३७ प्रतिशत छ । गतवर्षको मुनाफाबाट एभरेष्टले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको छ ।
एभरेष्टपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा बढी छ । यसको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ७२ लाख रुपैयाँभन्दा बढी छ । हाल यो बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँभन्दा माथि छ । तेस्रो त्रैमाससम्मको वितरणयोग्य नाफालाई आधार मान्दा स्ट्याण्डर्ड चार्टर्डको लाभांश क्षमता १९ दशमलव २७ प्रतिशत देखिन्छ । लाभांश वितरणको इतिहासमा अधिकतम १०५ प्रतिशतसम्म वितरण गरेको यस बैंकले पछिल्ला २ वर्ष भने नगद लाभांश मात्र वितरण गरेको छ । यस वर्ष स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।