जीवनमा गरेका काम, हासिल गरेका सफलता र जोडिएका सम्बन्धले मानिसको परिचय पनि थपिँदै जान्छ । यस्तै अनेकौं परिचयबाट चिनिने व्यक्ति हुन् आङतेम्बा शेर्पा । हुन पनि ६० वर्षे उमेरमा उनी कहिले पर्यटकको भरिया, पर्वतारोही त कहिले मोडलसम्म बने । यस्तै आविष्कारक, लेखक र पर्यटन व्यवसायी तथा कृषि अभियन्ताको परिचय पनि बनाए । कक्षा ३ सम्मको औपचारिक शिक्षापछि पर्यटकको भारी बोक्न थालेका शेर्पाले स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध घडी कम्पनी (वेस्ट एन्ड वाच)को मोडल तथा ब्रान्ड एम्बासडरको भूमिका समेत निर्वाह गरेका छन् । त्यति मात्र होइन, अमेरिकामा पानीजहाज, लुगा तथा हेलिकोप्टर कम्पनीको विज्ञापनमा समेत उनले मोडलिङ गरिसकेका छन् । पछिल्लो समय भने उनको व्यस्तता पर्यटन व्यवसाय, कृषि तथा किताब लेखनमा बढेको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–३ छेप्लु (तत्कालीन सगरमाथा अञ्चल, सोलुखुम्बु, चौरीखर्क गाविस–७) मा जन्मिएर संसारका थुप्रै मुलुकमा विभिन्न काम गरिसकेका शेर्पासँग उनको जीवन संघर्ष, उतारचढाव र अनुभवबारे आर्थिक अभियानका कार्यकारी सम्पादक रुद्र खड्का ले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंले विदेशी पर्यटकको भारी बोक्ने कामदेखि पर्वतारोहण, उद्योग, व्यवसाय सञ्चालन, वातावरण संरक्षण तथा स्वीस घडीको मोडलिङसम्मको काम गरिसक्नु भएको छ । खासमा तपाईं आफूलाई कसरी चिनाउनु हुन्छ ?
संसारमा झन्डै ८ अर्ब मान्छेको बसोवास छ । सबै फरकफरक खालका छन् । तर सबैले श्वास फेर्छन् । म पनि श्वास लिएरै पृथ्वीमा आएको एउटा मानव हुँ । पृथ्वीमा मानव भएर आइसकेपछि केही न केही काम गर्नुपर्ने हुन्छ । प्रकृतिको नियम अनुसार मैले पृथ्वीमा जन्म लिइसकेपछि विभिन्न काम गरेको हुँ । अहिले म आविष्कारक पनि भएको छु । मानिसलाई पँखेटा बनाएर उड्न मिल्ने प्याराग्लाइडिङ र पावर प्याराग्लाइडिङ (पीपीजी) उपकरण निर्माणमा योगदान गरेको छु । यसको आविष्कार गर्ने तीनजना व्यक्तिमध्ये एउटा म हुँ । मानिस पँखेटा लगाएर उडोस् भन्ने मेरो चाहना छ । त्यस्तै पृथ्वीलाई प्राकृतिक रूपमा बचाइराख्न म वातावरण संरक्षणको दूत भएर पनि हिँडिरहेको छु, काम गरिरहेको छु । ‘पृथ्वी मेरो घर, स्वास्थ्य मेरो धन’ नाराका साथ देश–विदेश दौडाहामा छु । त्यस्तै मेरो ‘कृषि मेरो चाहना, कृषक मेरा साथी’ भन्ने अर्को नारा पनि छ । कृषि क्षेत्रबाट उत्पादित खाद्यान्नविना पृथ्वीमा बसोवास गर्ने कुनै पनि मानिसको जीवन चल्न नसक्ने भएकाले कृषि उत्पादन तथा राष्ट्रिय खाद्य बैंक लिमिटेडसँग पनि जोडिएको छु । देशभित्रका २५–३० जिल्लाबाहेक जापान, दक्षिण अफ्रिका, अमेरिका र युरोेपमा पनि खाद्य बैंकको सञ्जाल विस्तार भइसकेको छ ।
मानिसले प्रकृति बिगार्दै गएकाले त्यसको संरक्षण आवश्यक देखिएकाले संरक्षणका लागि नयाँ सोच र योजनाका साथ काम गर्ने मेरो चाहना छ । त्यही भएरै पँखेटा लगाएर उड्न मिल्ने पीपीजीको आविष्कार गरिएको हो । पीपीजी आउनुअघि प्यारासुट, प्याराग्लाइडिङ, हेङग्लाइडिङ जस्ता विभिन्न माध्यमबाट पनि उडान हुँदै आएका थिए, भइरहेका पनि छन् । यस्तोमा इन्धनविना उड्न सक्ने अझै भरपर्दो साधनको आवश्यकता बोध भयो । सोही आवश्यकता पूर्तिका लागि पीपीजीको आविष्कार गरिएको हो । इन्धनविना आकाशमा उड्यो भने प्रदूषणबाट मुक्त हुन सकिन्छ । हवाईजहाज निर्माण गर्न, विमानस्थल बनाउन, गाडी किन्न धेरै पैसा लाग्ने भएकाले पीपीजीको प्रयोगले त्यो समस्या पनि समाधान हुने भयो । अहिले लाखौं मान्छे पीपीजीबाट उड्न थालेका छन् । यो काम सफल भएकोमा म खुशी छु । यी सबै काम गरे पनि म एउटा साधारण मानव हुँ भनेर परिचय दिन चाहन्छु ।
मेरो जीवनको करिअर भने पर्यटकको भरिया बोक्ने कामबाट शुरू भएको हो । तर मैले लिएको विचार महत्त्वपूर्ण भएकाले र सोहीअनुसार इमानदार भएर काम गरेकाले विभिन्न अवसर पाएँ । स्वीट्जरल्यान्ड, चेक रिपब्लिक, अमेरिका जस्ता देशमा पुगेर विचार राख्न पाएँ । त्यहाँका नागरिकले मेरा विचार र कर्मलाई पत्याए । अहिले म पर्यटन व्यवसायी पनि भएको छु । यतिखेर पर्यटनको सिजन भएकाले मेरो कर्मबाट रोजगारी सृजना भइरहेको छ । केही दिनपछि म हिमाल चढ्न जाँदै छु । किताब लेख्ने काम पनि गरिरहेको छु । सोलुखुम्बुको चौंरीखर्कमा जन्मिएको एउटा मान्छेका लागि यो सबै काम निकै बढी हो जस्तो लागे पनि मैले सहज रूपमा लिइरहेको छु ।
इमानदारीपूर्वक काम गरेकाले नाम, दाम कमाउन सफल भइयो । मानिस इमानदार हुने हो भने संसारमा जहाँ बसे पनि हुन्छ । कतिपयले मलाई धेरै धनी व्यक्ति पनि भन्छन् । त्यसो सुन्दा मलाई हाँसो लाग्छ । मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको मान्छेको इमानदारी हो । जो जहाँ छ, त्यसमा इमानदार हुने हो भने प्रगति गर्न खासै समस्या छ जस्तो लाग्दैन । मान्छेको जीवनमा धेरैभन्दा धेरै जनासँग सहकार्य गरेपछि मात्र केही न केही नयाँ योजना बन्ने हुन् । मेरो जीवनमा पनि त्यस्तै भइरहेको छ । मेरो विचारमा हरेक व्यक्तिका लागि जम्मा दुई दिन हुन्छ, एउटा जन्म र अर्को मृत्युको दिन हो । अरू समय व्यतीत गर्ने अवधि मात्र हो । जन्म र मृत्युबीचको अवधिमा सबैले केही न केही काम गर्छन् । सिद्धार्थ गौतम बुद्धले भनेझैं मानिस प्रकृतिप्रेमी हुनुपर्छ भन्ने मलाई लाग्छ । म पनि त्यसैबाट प्रभावित छु । गौतम बुद्धले आममानिसका लागि काम लाग्ने विचार दिएकाले अहिलेको पुस्ताले देवता मानेको हो जस्तो लाग्छ । मलाई पनि देवता भनेको त्यस्तो हो जस्तो लाग्छ, जसले अरूका लागि दिने काम गर्छ ।
हिजोको भरिया आङतेम्बा आज कसरी यतिखेर चर्चा गर्न लायक अवस्थामा पुग्यो ?
मैले जीवनमा ठूलो मान्छे खोज्न भनेर सारा संसार चहारेँ । अहिले विगतलाई संस्मरण गर्दा यो सब नबुझेर भएको रहेछ भन्ने लाग्छ । वास्तविक रूपमा भन्ने हो भने भरिया हुँदाको आङतेम्बा र अहिलेको आङतेम्बा एउटै हो । त्यतिबेला भौतिक रूपमा उचाइ, मोटाइ केही कम थियो होला । अहिले केही वृद्धि भएको होला । अहिले मलाई अन्तरराष्ट्रिय स्तरमा दिइएका नाम सबै कृत्रिम हुन् । म हिजो जे थिएँ, अहिले पनि त्यही हुँ । तर यो सब कुरा ठूलो मान्छे खोज्दै हिँडेपछि मात्र थाहा भयो । मलाई अहिले प्राप्त भएको ज्ञान यो संसारमा आफूभन्दा ठूलो मान्छे कोही रहेनछ भन्ने हो । ठूला ठूला कम्पनीका ब्रान्ड एम्बासडर, अन्तरराष्ट्रिय बुद्धिजीवी, आविष्कारक जस्ता जे नाम दिए पनि मेरा लागि ती त्यति महत्त्वका छैनन् । बरु त्यस्ता नाम थपिँदै गएको देख्दा हाँसो लाग्छ ।
हिजो म जे थिएँ, अहिले त्यो नहुन सक्छु । परिचय फेरिँदै गएको मात्र हो । मैले यस अवधिमा विभिन्न संघसंस्थालाई सघाइरहेको पनि छु । शरीरमा श्वास रहँदासम्म विभिन्न काम र परिचय हुन्छ । प्रकृतिलाई माया गर्ने मान्छे असल हुन्छ । मैले पर्यटकको भरिया हुँदादेखि नै अवलम्बन गरेको कर्म र इमानदारी आजपर्यन्त कायम राखेको छु ।
- सरकारले जनताको हितमा काम गर्ने हो भने सबैभन्दा पहिला कृषिमा जोड दिनुपर्छ, उद्योग कलकारखाना स्थापनामा लाग्नुपर्छ ।
- नेपालमा राम्रो सिस्टमको विकास नहुँदा जनताले दु:ख पाइरहेका छन् ।
- जो जहाँ छ, त्यसमा इमानदार हुने हो भने प्रगति गर्न खासै समस्या हुँदैन ।
तपाईंले स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध घडी कम्पनी (वेस्ट एन्ड वाच)को मोडलिङ पनि गर्नुभयो । यो कसरी सम्भव भयो ?
मैले स्वीस घडीको मात्र नभई सयौं विदेशी वस्तुको मोडलिङ गरेको छु । अर्बौं डलर पूँजी भएका कम्पनीले उत्पादन गर्ने वस्तुको मोडलिङ गरेको छु । ती कम्पनीले मलाई भयङ्कर ठूलो मान्छे भएको जस्तो बनाए । यो सब मेरो कामप्रतिको निष्ठाले सम्भव भएको हो । त्यसैले म सधैं निष्ठावान् भएर काम गर्न सबैलाई सल्लाह दिने गर्छु । काम नै सबथोक वा देवता जस्तो भयो भने नाम, दामका लागि कुनै समस्या हुँदैन । मैले शुरूमा काम नै देवता हो जस्तो गरेँ । देवताका लागि ढुंगा, पोखरी या अन्य वस्तुभन्दा पनि काम नै हो भन्ने बुझाइले यहाँसम्म पुर्यायो भन्ने मेरो बुझाइ छ । म कहिल्यै पनि पोखरी, हिमाल वा ढुंगा पूजा गर्नतिर लागिनँ । कामलाई महत्त्व दिएँ । कामप्रतिको मेरो इमानदारीले विदेशी कम्पनीले पत्याए । इमानदारीले नै मेरो काम सफल भएको हो ।
भरियाको काम गर्दागर्दै विदेश पुग्दाको अनुभव सुनाइदिनुहोस् न ।
मेरो विदेश यात्रा हङकङ, सिंगापुर, थाइल्यान्डबाट भएको हो । म १६–१७ वर्षको उमेरदेखि नै विदेश जान थालेको हुँ । विदेश जाँदा पनि पर्यटकको भारी बोक्ने काम गर्थें । तत्कालीन राजा महेन्द्रले मनाङमा बसोवास गर्ने नागरिकका लागि गरिखान झिटीगुन्टाको सुविधा दिएका थिए । किनकि त्यो बेला मनाङवासी एकदमै गरीब थिए । झिटीगुन्टाको सुविधा पाएकाले विदेशबाट सामान ल्याएपछि भन्सार लाग्दैनथ्यो । सोही सुविधा अनुसार विदेशबाट सामान आयात हुन थाल्यो । मैले पनि झिटीगुन्टाको सुविधा अनुसार राहदानी बनाएर पर्यटकको भरिया हुँदै हङकङ जाने मौका पाएँ । त्यसपछि सिंगापुर, थाइल्यान्ड र बंगलादेश पुगेँ । त्यही अवसरमा धेरै कुरा सिक्ने मौका मिल्यो । अनि धेरै विषयमा अनुसन्धान गर्न पाएँ । यद्यपि औपचारिक शिक्षा भने मैले ३ कक्षासम्म मात्र पढेको हुँ । त्यही अनुभव नै स्नातकोत्तर वा विद्यावारिधिभन्दा अब्बल ठहरियो, जसले गर्दा म वैदेशिक यात्राबाट प्रभावित भएँ । म झिटीगुन्टाको सुविधा अनुसार विदेश गएकाले मनाङेहरूले आयात गर्ने सामानको फारम भरिदिने, कुन जहाज कहाँ जाँदै छ भन्नेबारे जानकारी दिनेजस्ता काम गर्न थालेँ । नेपालमा ल्याउनुपर्ने सामान, भन्सारले लिने करको बारेमा मनाङेहरूलाई पनि जानकारी दिने काम गरेँ । हङकङको अनुभवले युरोेप जान पाएँ । युरोेप पुगेपछि रेल देखेँ । दिल्लीबाट जर्मनीको फ्र्यांकफर्ट विमानस्थल हुँदै युरोप गएको हुँ । १९ वर्षको उमेरमा त्यहाँ पुगेँ । त्यहीँबाटै स्वीट्जरल्यान्ड गएँ ।
युरोेप पुगेपछि के गर्नुभयो ?
मैले आफ्नो कामलाई निरन्तरता दिएँ । त्यहाँ पुगेपछि पैसा पनि कमाएकै हो । त्यही पैसाबाट नेपालमा बैंक स्थापना गर्न मद्दत पुग्यो । जनता बैंक स्थापना गर्ने संस्थापकमध्ये एक हुँ । तर बैंकमा पैसा लगानी भएपछि ‘फ्रिज’ हुँदो रहेछ । मलाई त्यसमा पनि दु:ख लागेन । किनकि त्यसबाट कैयौंले रोजगारी पाइरहेका थिए, छन् । मैले कमाएको पैसा विभिन्न व्यवसायमा लगाएको छु । अहिले पनि पैसा चाहियो भने विदेशबाट ल्याउन सक्छु भन्ने आँट छ । मैले इमानदारीलाई आत्मसात् गरिरहेकाले पैसाको समस्या नभएको हो र यसका लागि अरूले पत्याएका हुन् भन्ने लाग्छ ।
तपाईंले नेपालमा कृषि अभियान पनि चलाइरहनु भएको छ, किन ?
कृषि मानिसलाई बचाउने मुख्य क्षेत्र हो । कृषि नहुने हो भने भोकमरी हुन्छ । त्यही भएर म यो अभियानमा लागेको हु । मेरो जोड रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा छ । आकाश र जमीनले दिएको चिजबाट मानिस जिउनुपर्छ । कृषि उत्पादन नगर्ने हो भने भोकमरी हुन्छ । रैथाने बालीको उत्पादन गर्यो भने दीर्घकालीन पनि हुन्छ । त्यसविपरीत एकजनाले रोपेपछि हजार, लाखले खान पाउने खेती प्रणालीले मानिसलाई दीर्घकालसम्म हित गर्दैन । यस्तो खेती छिटो, मीठोका लागि मात्र हो । यसबाट उत्पादित कृषिउपज अखाद्य हुन्छ, यस्तो विधिको खेतीले जमीन नष्ट गर्छ । त्यही भएर मैले रैथाने खेतीलाई जोड दिइरहेको छु । मानिसले यसो गर्यो भने लामो समयसम्म कृषि गर्न सकिन्छ, नत्र चाँडै माटो मर्छ । आधुनिक नाममा भइरहेको खेतीले अनेकौं समस्या निम्त्याइरहेको छ । जमीन मर्यो भने खेती हुँदैन । म जापान, इटाली, हल्याण्डलगायत देशमा पनि खेतीकार्यमा लागिरहेको छु । त्यहाँ पनि रैथाने कृषि पद्धतिलाई जोड दिइरहेको छु । कृषि कर्ममा लाग्नुको मेरो उद्देश्य सबैले खान पाउनुपर्छ भन्ने हो । अहिलेका मान्छेले मात्र नभई २–३ सय वर्षपछि जन्मने मानिसले पनि खान पाउने गरी कृषि उत्पादन हुनुपर्छ भन्ने मेरो सोच छ ।
मेरो टिममा कृषिका विज्ञहरू पनि छन् । अहिलेको समयमा मेरो सोच फरक जस्तो लागे पनि यतिखेर पृथ्वीका लागि वैज्ञानिक कामभन्दा प्राकृतिक संरक्षणका काम गर्न बढी आवश्यक छ । केही वर्ष अघिसम्म मलाई पनि नेपालमा किन विकास नभएको होला जस्तो लाग्थ्यो । तर अहिले युरोेप, अमेरिकाजस्तो विकास नेपालमा भएको भए प्रकृतिको संरक्षण हुन्थ्यो होलात ? भन्ने लाग्छ ।
संसारका विभिन्न देशमा भ्रमण तथा बसोवास गरेकाले तपाईं नेपाल सरकारलाई के काम गर्न सल्लाह, सुझाव दिनुहुन्छ ?
सर्वप्रथम त नेपालको सरकार चलाउने शैलीमा धेरै सुधारको खाँचो छ भन्ने मेरो ठम्याइ छ । नेपालमा राम्रो सिस्टम बन्न नसकेकाले जनताले दु:ख पाइरहेका छन् । सिस्टम बन्न नसकेकै कारण ठूलो संख्याका युवायुवती विदेश गइरहेका छन् । ठूलो संख्याका युवायुवती विदेश पस्दा खेतीयोग्य जमीन बाँझो छ । पुरुष विदेश पस्दा महिला एक्लै बस्न बाध्य छन् । यसले जनसंख्यामा पनि कमी ल्याइरहेको छ । त्यसैले विदेश गएकालाई नेपाल फर्काउन आवश्यक देखिएको छ । युवा देशमा फर्किएपछि बाँझो जमीनमा कृषि उत्पादन शुरू हुन्छ । सरकारले राम्रो काम गरेर देखायो भने विदेश गएकाहरू फर्कन्छन् । तर सरकारका गतिविधि हेर्दा राम्रो काम गर्न चासो छैन । विगतदेखि नै बन्ने गरेका सरकार राम्रो ट्र्याकमा आउन सकेका छैनन् । सरकारले दीर्घकालसम्म काम लाग्ने काम गरेको पनि देखिँदैन । सरकारले जनताको हितमा काम गर्ने हो भने सबैभन्दा पहिला कृषिमा जोड दिनुपर्छ, उद्योग कलकारखाना स्थापनामा लाग्नुपर्छ । अहिले सरकारमा बस्नेहरूले ठूला ठूला कुरा गर्नुभन्दा पनि साना ठानिएका, तर ती महत्त्वपूर्ण काम परिपक्व तरीकाले गर्नुपर्छ । कृषि मात्र सुधारिने हो भने देशले निकै प्रगति गर्ने सम्भावना छ । तर यो देशमा चाहिनेभन्दा नचाहिने कुरा गर्नेको समूह सक्रिय छ ।
तपाईंको आगामी योजना के कस्ता छन् ?
अहिले मेरो इच्छा तपस्या गर्नेतिर भएकाले तपस्या पनि गरिरहेको छु । स्वच्छ र शान्त वातावरणमा बस्न चाहन्छु । मान्छेले जन्मदेखि मृत्युसम्म थुप्रै काम गर्नुपर्ने भएकाले मेरो पनि मृत्युसम्म इच्छा लागेका विषयमा अध्ययन, अनुसन्धान गर्ने विचार छ । तर अहिले नै यसै विषयको अनुसन्धान भन्न चाहिँ सकिँदैन ।